घर फर्किए इँटा भट्टाका १९ हजार मजदूर

 चैत १८, २०७६ मंगलबार १४:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरका ६२ वटा इँटा भट्टामा काम गर्ने १९ हजार मजदूर घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको ताकेतामा इँटा व्यवसायीहरुले कामदारलाई घर फर्काएका हुन् ।  

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा भेटिएपछि सरकारले २५ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले मजदूरहरु घर फर्कन चाहेपछि व्यवासायीले उनीहरुलाई घर फर्काउने व्यवस्था गरेको जानकारी दिनुभयो । 

 घर जान चाहने मजदूरलाई ५२ वटा सवारी पास जारी घर फर्काइएको हो । बाँकी केही मजदूरहरुलाई  केही दिनमा फर्काउने पाण्डेले जानकारी दिनुभयो । भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्याम्बाले विगत १३ दिनदेखि काँचो इँटा बनाउने काम बन्द गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘भक्तपुरको इँटा भट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर पुर्याएका छौँ । इँटा बोक्ने केही मजदूर बाँकी छन् उनीहरुलाई पनि पठाउने व्यवस्था गर्दैछौँ । भारतका केही मजदूर छन्,उनीहरुलाई कसरी पठाउने भनेर छलफल भइरहेको छ ।’

लकडाउनले भारतबाट आयात हुने कोइला आउन छाडेको र मजदूर पनि गएपछि इँटाभट्टा बन्द हुन थालेका छन् । मजदूर घर फर्किएपछि खेलभरी लाखौँ काँचो इँटा असरल्ल भएको छ । 

‘विगतका वर्षमा घर फर्कदा मजदूरहरु सबै हिसाब सकेर हातमा लाखौँ बोकेर खुसी भएर जान्थे, यस वर्ष कोरोनाका कारण सीडीओ साहेबले छिटो पठाऊ भन्नुभयो, लकडाउनले बैंक पनि खुलेनन्,’ अध्यक्ष ह्याम्बाले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया