बुधबारसम्म १ हजार १ सय ४५ जनाको कोरोना परीक्षण

 चैत २०, २०७६ बिहिबार १३:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनस्वास्थ्यविद लगायतले कोरोना भाइरसको परीक्षणको दायरा बढाउनुपर्ने बताइरहे पनि सरकारले अझै परिक्षणको दायरा बढाउन सकेको छैन ।

काठमाण्डाैको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण भैरहेकोमा गएको आइतबारदेखि धरान र मंगलबारदेखि पोखरामा विस्तार गरिए पनि परीक्षणको दायरा भने बढाउन सकिएको छैन  ।

बुधबारसम्ममा १ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गरिएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डाै टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ र धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १ हजार १ सय २८ जनामा कोरोना नभएको र बाँकी ५ जनामा कोरोना भएको पाइएको हो ।

अहिले पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरी उपत्यकाका अस्पतालमा ८ जनाको आइसोलेशन अर्थात डाक्टरको निगरानीमा उपचार भैरहेको छ । यस्तै काठमाण्डाै उपत्यकामा बाहेक सबै प्रदेशमा ९१ जनाको आइसोलेशनमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले थप पाँच ठाउँबाट कोरोनाको परीक्षण शुरु गर्ने तयारी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार जनकपुर, धनगढी, सुर्खेत, वुटवल र हेडौंडामा कोरोनाको परीक्षण गर्न आवश्यक सामान र जनशक्ति पुगिसकेको छ ।

यी पाँचै ठाउँमा नमुना परीक्षणका लागि पोर्टेवल पिसिआर मेसिन सहित आवश्यक सामाग्री र जनशक्ति पुगिसकेकाले छिट्टै कोरोना परीक्षण गर्ने योजनामा रहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार वीर अस्पताल, पाटन अस्पताल र धुलिखेल अस्पतालमा पनि कोरोना परीक्षणको तयारी भैरहेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया