दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कार्यविधि तयार

 चैत २०, २०७६ बिहिबार १४:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको कालिका गाउँपालिकाले 'लकडाउन'को समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन कार्यविधि तयार पारेको छ । 

कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन बनेको कार्यविधि-२०७६ निर्माण गरिएको हो । 

गाउँपालिकाले कार्यविधि निर्माण गरेर तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको छ । गाउँपालिकाभित्र अहिले बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएका परिवारलाई कार्यविधिले समेटेको छ । 

गाउँपालिकाले लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो ।

‘हामीले कार्यविधि निर्माण गरेसँगै लगत सङ्कलन थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘हाम्रो चाहाना भनेको गाउँपालिकाभित्र रहेका कोही पनि सामग्रीको अभावमा समस्यामा नपरुन् भन्ने हो ।’

गाउँपालिकाभित्र बसोबास गर्दै आएका, अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाट बञ्चित भएका लक्षित परिवारलाई लकडाउन अवधिभर न्यूनतम दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया