कोरोना सङ्क्रमित ६ मध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका यात्रु भएको पुष्टि

 चैत २०, २०७६ बिहिबार १८:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएका ६ जनामध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका खुल्न आएको छ ।

पछिल्लो पुष्टि भएको सङ्क्रमण गएको चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएकी एक महिलामा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चैत ४ गते कतारबाट आएको क्यू आर ६५२ जहाजमा आएका यात्रुमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार छैटौँ संक्रमित महिला काठमाण्डौ उपत्यका बाहिरकी हुन् । यसअघि यही जाहाजमा फ्रान्सबाट आएकी काठमाण्डौकी एक युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङकी १९ वर्षिया युवतीमा संक्रमण देखिएको थियो । उनको बाग्लुङमा नै उपचार भइरहेको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । कोरोना संक्रमित ६ मध्ये एकजना उपचारपछि घर फर्किसकेका छन भने पाँच जनाको उपचार भइरहेको छ । उनीहरको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया