भन्सार कटाएको वैध कपडा जिल्ला प्रहरी कार्यालयमै गोलमाल, व्यवसायी महिलामाथि कुटपिट

 साउन १२, २०७५ शनिबार ११:२६:० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – एक व्यवसायीले भन्सार कटाएर ल्याउँदै गरेको वैध कपडा समेत प्रहरीले बरामद गरेर गोलमाल गरेको छ । 

गएको मंगलबार दिउँसो कदमचोकबाट प्रहरी जवान सुमन सिंहले भन्सार कटाएको १ सय वटा गम्छा र १५ वटा साडीको कपडा जनकपुरको कदमचोकबाट व्यवसायी महिलाबाट जबरजस्ती नियन्त्रणमा लिएका थिए । तर बुधबार भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय धनुषाले ५० पिस गम्छा मात्र बुझाएको छ । नियन्त्रणमा लिएको कपडाबाट ५० पिस गम्छा र १५ पिस कपडाको अत्तोपत्तो छैन ।  

धनुषाको जनकनन्दनी गाउँपालिका ५ बस्ने जुमेदा खातुन र २८ वर्षका प्रदीप महतोले ल्याउँदै गरेको कपडाहरु भन्सार कटाएको रसिद देखाउँदा समेत प्रहरी जवान सुमन सिंहले अवैध रहेको भन्दै जबरजस्ती जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए । जबरजस्ती कपडा नियन्त्रणमा लिने क्रममा आफूमाथि कुटपिट समेत गरेको व्यवसायी जुमेदा खातुनले गुनासो गर्नुभयो ।

‘खजुरीबाट जनकपुरको कदमचोक सम्म बसमा ल्याएकी थिएँ । त्यहाँबाट रिक्सामा राखेर बजार तिर जाँदै गर्दा प्रहरी जवान सुमन सिंह आएर कहाँबाट ल्याएको ? जिल्लामा लिएर हिँड भन्न थाले’, खातुनले भन्नुभयो, ‘मैले भन्सार कटाएको छु । यो रसिद हेर्नुस् भन्दा भन्दै पनि माननेन्, खुट्टासमेत ढोगेँ तर उल्टै हिर्काए । यो हेर्नुस् औंलामा गहिरो चोट । हामी गरिबले कानुनी रुपमा कमाएर खान पनि नपाउने । यो कस्तो कानुन हो ?’

प्रहरीले खातुनबाट नियन्त्रणमा लिएको १ सय वटा गम्छा र १५ वटा साडी मध्ये भन्सार कार्यालय जनकपुरमा भने ५० वटा गम्छा मात्र बुझाएको छ । भन्सारमा आफ्नो कपडा लिन जाँदा ५० वटा मात्र प्रहरीले बुझाएको भनेपछि व्यवसायी खातुन झनै पीडित बन्नु भएको छ । आफू जस्ता कैयौं साना व्यवसायीको कपडा यसरी नै जिल्ला प्रहरीले वैध हुँदाहुँदै समेत नियन्त्रणमा लिएर अनियमितता गर्ने गरेको उहाँको आरोप छ ।

पीडित व्यवसायी खातुनले आफ्नो समान वैध हुँदाहुँदै प्रहरीले पक्राउ गरेर गोलमाल गरेको आरोप लगाउनुभयो । उहाँले आफूलाई कुटपिट गर्ने प्रहरी जवान सुमन सिंहमाथि कारबाही र जिल्ला प्रहरीमा गोलमाल भएको कपडा उपलब्ध गराइदिन सबैपक्षसँग गुहार गर्नुभएको छ ।

तर धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले प्रहरीले नियन्त्रणमा लिए बमोजिम कपडा भन्सारमा बुझाएको दावी गर्नुभयो । कपडा नियन्त्रणमा लिएको बेला भन्सार रसिद नभएको कारणले नियन्त्रणमा लिएको शाहीको भनाई छ । भन्सार कार्यालयले त समान हेरी रसिद काट्छ नि । तर रसिदमा उल्लेख भएबोजिम कपडा किन भन्सारमा बुझाउनु भएन ? सञ्चारकर्मीको जिज्ञासामा प्रहरी नायव उपरीक्षक शाहीले ‘भन्सारले जे पनि गर्छ’ भन्ने आरोप लगाउनुभयो ।
कपडा नियन्त्रणमा लिएको बेला व्यवसायी महिलामाथि प्रहरीले कुटपिट किन गर्यो भन्ने प्रश्नको जवाफमा शाहीले भन्नुभयो, ‘त्यतिबेला समान्य कुटपिट भइहाल्छ नि !’

यता भन्सार कार्यालय जनकपुरका प्रमुख हेमचन्द्र शर्माले जिल्ला प्रहरी कार्यालयबाट ५० वटा गम्छा मात्र पठाएको बताउनुभयो । समान नहेिरकन पनि भन्सार कार्यालयले रसिद काट्छ भन्ने जवाफमा उहाँले भन्नुभयो, ‘समान नहेरी भन्सार कार्यालयले कहिल्यै पनि रसिद काट्दैन, समान हेरेर गन्ती गरेर मात्रै बिल काट्छ ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया