साप्ताहिक शेयर समीक्षा : शेयर बजार यो हप्ता के–के भयाे ?

 साउन १२, २०७५ शनिबार ११:४३:४९ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - नेपाल स्टक एक्सचेन्जमा यस हप्ता १ सय ७९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १६ हजार ८ सय ८६ वटा कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको रकम परिचालित भएको छ । विभिन्न कम्पनीका ३९ लाख ४५ हजार ७ सय २० कित्ता शेयर किनबेच भएका छन ।

यस हप्ता नबिल बैंक, मेगा बैंक र राइरांग हाइड्रोपावर क्रमशः रकम, कित्ता र कारोबार संख्याका आधारमा अग्रस्थानमा रहेका छन् ।  नबिल बैंक ५ करोड ३० लाख ३० हजार रुपैयाँ, मेगा बैंक १ लाख ३७ हजार कित्ता र राइरांग हाइड्रोपावर ७४५ वटा कारोबार सहित पहिलो भएका हुन् । रकमको आधारमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल बैंक र सानिमा बैंक क्रमशः रहेका छन् । यस हप्ता कुनै पनि कम्पनीको शेयर सूचीकरण भएन ।

यस हप्ता कारोबार हुने कम्पनी गएको हप्ता भन्दा घटेको छ, गएको हप्ता १ सय ८६ कम्पनीका शेयर कारोबार भएका थिए । कम्पनी घटे पनि कारोबार संख्या भने बढेको छ । कित्ता संख्या पनि गत हप्ता भन्दा घटेको छ । कारोबार रकम गत हप्ता भन्दा २७ दशमलब ४१ प्रतिशतले घटेको छ । कारोबार रकम र कित्ता घटेसँगै परिसूचक पनि घटेको छ  । गत हप्ता ११९३ दशमलब ३९ अंकमा बन्द भएको नेप्से सूचक २ दशमलव १९ अंकले घटेर ११९१ दशमलव २० अंकमा आएर बन्द भएको छ । साताको पहिलो दिन आइतबार बजार बन्द हुँदा ११८१ दशमलब ६६ अंकमा झरेको सूचक अन्तिम दिन बिहीबार बजार बन्द हुँदा ९ दशमलब ५४ अंकले बढेर ११९१ दशमलब २० मा पुगेको छ । साताभरिमा मंगलबार ११९९ दशमलब २७ अंकसम्म पुगेको थियो ।


समूहगत परिसूचकमा होटलको ७३ दशमलब ११ अंकले र त्यसपछि निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४६ दशमलब शून्य १ अंकले बढेको छ  । सबैभन्दा धेरै घट्ने समूहमा उत्पादन तथा प्रशोधन समूह ५ दशमलब ९ अंकले घटेको छ  । यस हप्तादेखि बीमा समूहलाई जीवन र निर्जीवनमा बाँडेर अलग अलग परिसूचक गणना गर्न थालिएको छ । यस हप्ता शेयर कारोबार ५ दिन पूरै खुलेको थियो  ।

लाभकर गणनासम्बन्धी विषयमा निर्णय आउने हल्ला चले पनि यस विषयमा अहिलेसम्म कुनै निर्णय सार्वजनिक भएको छैन  । लाभकर गणनासम्बन्धी निर्णय नआउँदा लगानीकर्ता र शेयरबजारमा अन्योल कायम रहेको देख्न सकिन्छ  । अनलाइन कारोबार प्रणालीको युजर एसेप्टेन्स टेस्ट (युएटी) सुरु भएसँगै
लगानीकर्तालाई नेप्सेले युजर नेम र पासवर्ड लिन विज्ञप्ति जारी गरेको छ ।

अनलाइन प्रणाली परीक्षणको क्रममा रहेको छ  । पूर्ण स्वचालित अनलाइन प्रणालीको उपयोग गर्न भने अझ केही समय लाग्ने देखिन्छ  । महंगो इन्टरनेट ब्याण्डविड्थ र सरकारले इन्टरनेट सेवामा पनि सेवा शुल्क लागएको हुँदा उच्चगतिको इन्टरनेट बिना स्वचालित अनलाइन कारोबार प्रणाली कस्तो होला अहिले केही भन्न सकिने स्थिति छैन  । प्रविधिको उपयोग गर्नसक्ने ज्ञानको कमीले गर्दा पनि यसको प्रभावकारिता कस्तो होला अध्ययनको विषय बन्नसक्छ ।

आर्थिक वर्षको समाप्तिसँगै कम्पनीले वार्षिक प्रगति विवरण सार्वजनिक गर्न थालेका छन् ।  सार्वजनिक भएका वित्तीय विवरण हेर्दा कम्पनीको प्रगति गुणात्मक र परिमाणात्मक दुवै हिसावले राम्रो देख्न सकिन्छ । विगत ३ वर्षमा बढेको पूँजीको अनुपातमा कम्पनीलाई प्रतिशेयर आम्दानी कायम राख्न
भने सहज हुन नसक्ने स्थिति हुन्न ।

महंगो मूल्य राखेको भनेर आलोचना खेपेको नेपाल बैंकले जारी गरेको एफपीओमा आवेदन गर्ने अन्तिम दिन १३ गते आइतबारसम्म रहेको छ । पन्चकन्या माई
हाइड्रोपावरले जारी गरेको प्राथमिक शेयर शुक्रबार बाँडफाँड भएको छ । आगामी श्रावण १५ गते मंगलबारदेखि सिटिजन्स बैंकको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ अंकित मूल्यमा रु १ सय प्रिमियम थप गरि बिक्री गर्ने भएको छ । कम्पनीको एफपीओमा १८ गते शुक्रबारसम्म आवेदन गर्न सकिनेछ  ।

नागबेली लघुवित्त, नेसनल लाइफ, मिर्मिरे लघुवित्त, समता लघुवित्त, सिनर्जी फाइनान्स, सिद्धार्थ इन्सुरेन्स, आरएसडीसी लघुवित्त र जेविल्स फाइनान्स हकप्रद खुलिरहेको छ  । जेविल्स फाइनान्सको हकप्रदमा आवेदन गर्ने अन्तिम मिति श्रावण १३ गते आइतबारसम्म रहेको छ ।

आगामी हप्ताको १५ गते नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने प्रयोजनको लागि एक दिन बुक क्लोज गर्दैछ । १४ गतेसम्म शेयर किन्नेले हकप्रदमा सहभागी हुन पाउनेछन् । त्यस्तै एनएमबी बैंकले श्रावण ३१ गते हुने आर्थिक वर्ष २०७३–७४ को साधारणसभाको लागि आगामी हप्ता १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकले साधारणसभामा १५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव लैजान लागेको छ  । १६ गतेसम्म शेयर किन्ने साधारणसभामा सहभागी हुन पाउनेछन् । 

धितोपत्र बोर्डले सिटिजन म्युचुअल फण्ड –१, एनएमबी सुलभ इन्भेष्टमेन्ट–१, एनएमबी हाइब्रिड फण्ड–१, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी भ्यालू फण्ड–१ र एनआईसी एसिया ग्रोथ फण्ड लगायत ६ वटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का योजना व्यवस्थापकहरुलाई बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी रकम राखेको भन्दै योजना व्यवस्थापकहरुलाई कारबाही किन नगर्ने भनी १५ दिनको म्याद दिई स्पष्टीकरण माग गरेको छ ।

त्यस्तै बोर्डले मर्चेन्ट बैंकको लागि निवेदन लिन स्थगित गरेको छ  ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया