भक्तपुर जिल्लामा राहत वितरण सुरु, सूर्यविनायक नगरपालिकाको राहत कार्ड जारी

 चैत २१, २०७६ शुक्रबार १८:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर जिल्लाका स्थानीय तह तथा विभिन्न संघसंस्थाले राहत वितरण सुरु गरेका छन् । 

पालिकाहरु आफैले र पालिकाहरुसँग समन्वय गरेर बिभिन्न संस्थाहरुले राहत वितरण सुरु गरेका हुन् । जिल्लाका चारवटै नगरपालिकाले आवश्यकता र अवस्था हेरेर राहत वितरण सुरु गरेका छन् । 

आज एकैदिन सूर्यविनायक नगरपालिकाले ५०० परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले यहाँका १० वटै वडामा ‘गरिब, विपन्न वर्ग राहत’ कार्ड वितरण गरि वडा नं १ बाट कार्ड पाएका व्यक्तिहरुलाई राहत वितरण सुरु गरेको हो । 

सूर्यविनायक नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार गरिब, न्यूनआय भएका, दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई आजबाट राहत वितरण सुरु गरेको सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । 

प्रत्येक वडा कार्यालयले आफ्ना वडामा भएका गरिब तथा विपन्न वर्गका मजदुरको लगत संकलन गरी अत्यावश्यक व्यक्तिको पहिचान गरि राहत वितरण सुरु गरेको उहाँको भनाई थियो । 

सूर्यविनायक नगरपालिकाको समन्वयमा आर्टअफ लिभिङ्ग नेपाल च्याप्टरले यहाँका ५०० परिवारलाई राहत वितरण गरेको छ । पूर्वसांसद बिमल केडियाको संयोजकत्वमा उक्त संस्थाले प्रतिपरिवार एक हजार १०० रुपैयाँ बराबरको पाँच किलो चामल, दुई किलो चिउरा, एक प्याकेट नून, डेढ किलो दाल, एक लिटर तेल, १० प्याकेट चाउचाउ र दुई वटा साबुन रहेको खाद्य सामग्रीसहितको प्याकेट प्रदान गरेको हो । 

चारजनासम्मको परिवारलाई १५ दिनसम्म खान पुग्ने खाद्य सामग्री वितरण गरिएको जानकारी दिदै प्रशासकीय अधिकृत ज्ञवालीले चारजना भन्दा माथिका परिवारलाई वडा कार्यालयले उक्त राहत प्याकेजमा प्रति परिवार पाँच किलो चामल थप गरेर वितरण गरेको बताउनुभयो । 

पूर्वसांसद केडियाले सूर्यविनायकमा ५०० परिवारसंगै कोटेश्वर र गोदावरीको ग्रामिण क्षेत्रका ५०० मजदूर गरी १ हजार परिवारलाई राहतवितरण गरिएको जानकारी दिनुभयो । 

पहिलो चरणमा उपत्यकाका विभिन्न ठाउँमा मजदूरका लागि चारदेखि पाँच हजार परिवारलाई राहत बाड्ने लक्ष्य अनुसार दैनिक राहत सामाग्रीको प्याकेजिङ र वितरण भइरहेको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाले २० गतेबाट अहिलेसम्म १५ हजार परिवारलाई राहत वितरण गरिसकेको मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले अब तीन वटा वडामा मात्रै बाँकी रहेकाले दुईदिन भित्र सबै वडामा राहत वितरण सकिने जानकारी दिनुभयो । नगरपालिकाले चार जनासम्मको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक प्याकेट नून, आधा किलो दालमोठ, एक किलो चिउरा र एक लिटर तेल तथा पाँचदेखि सात जनासम्मका परिवारलाई १५ किलो चामल, एक किलो आधा दाल, दुई प्याकेट नून, एक किलो दालमोठ, एक किलो आधा चिँरा र दुई लिटर तेल वितरण गरेको छ । 

भक्तपुर नगरपालिकाले भने केही अत्यावश्यक व्यक्तिलाई वडामार्फत राहत वितरण गरे पनि वडागत रुपमा विपन्न तथा मजदुरको लगत संकलन भइरहेको छ । भूकम्पमा जस्तै राहत वितरणमा भद्रगोल हुनसक्ने भएकाले राहत वितरणमा हतार नगरिएको र खाद्यान्न समस्या परेकाको पहिचान भएपछि मात्रै वितरण गरिने बताउनुभयो । 

चाँगुनारायण नगरपालिकाले पनि गरिब, विपन्न मजदुरहरुको लगत संकलन गरिरहेको जानकारी दिँदै राहत वितरण केही दिनपछि मात्रै सुरु गरिने नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

आवश्यकता नै नभएका व्यक्ति पनि राहतको लिष्टमा आउन थालेपछि त्यसलाई अध्ययन गरि वास्तविक रुपमा समस्यामा परेकालाई राहत वितरण गरिने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया