मलेसियामा एक नेपालीमा कोरोना सङ्क्रमण, सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

 चैत २१, २०७६ शुक्रबार १८:५४:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा एक नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासले शुक्रबार साँझको नियमित फेसबुक लाइभमार्फत एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाकारी दिएको हो ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङ्क्रमितको सङख्या धेरै भए पनि नेपाली श्रमिक एक जनामा मात्र सङ्क्रमण देखिएको दूतावासको भनाइ छ ।

शुक्रबार साँझसम्ममा मलेसियामा ३ हजार ३ सय ३३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय २७ जना निको भएका छन् भने २ हजार ४ सय ५३ जनाको अस्पतालमा उपचार भइरहेको छ । ५३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै दूतावासले कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।

यो अवस्था सामान्य भएपछि तलब र सेवासुविधाका विषयमा कम्पनीसँग दूतावासले छलफल गर्ने र त्यो पनि नभएका उच्चस्तरीय छलफल र वार्ताको माध्यमबाट भए पनि समस्याको समाधान खोजिने दूतावासले बताएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया