कोरोना कहर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका विभिन्न बजेट रोक्का

 चैत २२, २०७६ शनिबार १५:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना महामारीकाे समयमा बजेट खर्च गर्नुपर्ने भन्दै मातहतका विभिन्न निकायको विभिन्न शीर्षकको बजेट रोक्का गर्न परिपत्र गरेको छ । 

मन्त्रालयले सबै महाशाखा, किताब खाना, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, मातहतका प्रतिष्ठान लगायतलाई पत्र पठाउँदै सार्वजनिक गतिविधि रोकिएको अवस्थामा कतिपय कार्यक्रम गर्न नसकिने जवाफ पठाएको हो । 

कोरोना नियन्त्रणमा बजेट चाहिने भएकोले विनियोजन ऐन २०७६ अनुसार चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम स्थगित गरी बजेट रोक्का राख्न भनेको हो । 

मन्त्रालयले अर्थ मन्त्रालयको पत्रअनुसार चैत २० गतेसम्म दायित्व सिजना र बोलपत्र आह्वान भइसकेका बाहेक तत्काल लागु हुने गरी रोक्का राख्न भनेको हो ।

पत्रमा सेवा र परामर्श खर्च, कर्मचारी तालिम, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अनुगमन तथा मूल्याङ्कन खर्च र भैपरी आउने चालु खर्चको बजेट रोक्का राख्न भनिएको छ । 

यस्तै सवारी साधन, मेसिनरी तथा औजार र फर्निचर खरिदसम्बन्धी बजेट, कम्प्युटर, सफ्टवेर सम्पत्ति प्राप्ति सम्बन्धी बजेट, पूँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पूँजीगत खर्चको बजेट पनि रोक्का राख्न भनिएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया