लम्बिएको ‘लकडाउन’मा आफ्ना बालबालिका र विद्यार्थीको ख्याल कसरी राख्ने ?

 चैत २२, २०७६ शनिबार १९:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ–कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण सरकारले घोषणा गरेको ‘लकडाउन’को समयमा घरमै रहेका बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख्नुपर्ने विज्ञको सल्लाह छ । 

कोरोना सङ्क्रमणको जोखिमबारे सचेत भएजस्तै यो बेला बालबालिकाको मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने मनोविद् गंगा पाठकले बताउनुभयो ।
बालबालिकालाई तनाव हुन नदिन र उनीहरुको मन, मस्तिष्कलाई अनावश्यक विचारमा बहकिन नदिन अभिभावक बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ  ।

आफ्ना बालबच्चासँगै बसेर पढाइलाई निरन्तरता दिन र बेला बेलामा मनोरञ्जन पनि गर्न उहाँले सुझाव दिनुहुन्छ । अरु बेला परिवारका सदस्य कमै भेटघाट हुने, सहरबजारमा अहिले सबै जना एकैसाथ रहेकाले बालबालिकासँग बस्ने, रमाउने र खेल्ने अवसर रहेको मनोविज्ञ पाठकले बताउनुभयो । 

यस्तै घरभित्रै थुनिएर बस्नुपर्दा, लामो समय विद्यालय नजाँदा तथा कोरोना भाइरसको विषयमा धेरै कुरा हुँदा बालबालिकामा असर पर्न सक्ने भएकोले अभिभावकले बालबालिकाबारे ख्याल गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको आग्रह छ । विश्व स्वास्थ्य सङ्गठनले ‘लकडाउन’को बेला घरमै बस्दा योजना बनाएर बालबालिकालाई खुशी राख्न पहल गर्नुपर्ने बताएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले बालबालिकासँग खेल्ने, गीत सुन्ने र नाच्नेलागयतका क्रियाकलाप गर्न आमाबाबुलाई सुझाव दिएको छ ।त्यस्तै बालबालिकासँग मिलेर खाना पकाउँदा र व्यायामहरु गर्दा बालबालिका खुसी हुने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । 

बालबालिकालाई निश्चित समय दिएर पढ्ने र चित्र कोर्नेजस्ता काममा लगाउन पनि अभिभावकलाई सुझाव दिइएको छ । बालबालिकाका लागि आवश्यक सूचना मात्र दिएर उनीहरुलाई हात धुने, मानिससँग दूरी कायम गर्नेजस्ता व्यवहार सिकाउनुपर्ने बताइएको छ ।

यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत अरु परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई दैनिक बढीमा एक घण्टामात्र सामाजिक सञ्जालको प्रयोग गर्न मनोचिकित्सकले सुझाव दिएका छन् । लामो समय सामाजिक सञ्जाल चलाउँदा नियमित पढाइमा असर गर्ने भएकाले तोकेर निश्चित समयमा मात्रै सामाजिक सञ्जालको प्रयोग गर्न मनोचिकित्सक ऋषभ कोइरालाले सुझाव दिनुभयो । 

तालिका बनाएर स्कुलमाजस्तै नियमित पढ्ने र खेल्ने समय बनाउन विद्यार्थीहरुलाई सल्लाह दिँदै उहाँले आफ्ना छोराछोरीलाई त्यसमा सहयोग गर्न अभिभावकलाई आग्रह गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि भन्दै सरकारले चैत ६ गतेदेखि हुने भनिएको एसईईसँगै स्नातकदेखि स्नातकोत्तर तहसम्मको परीक्षा अन्तिम समयमा स्थगित गर्ने निर्णय गरेको थियो । 

आउँदो वैशाख १५ गतेदेखि २६ गतेसम्म १२ कक्षाको परीक्षा र वैशाख २९ देखि जेठ ८ गतेसम्म कक्षा ११ को परीक्षा हुने भएकोले तयारीमा जुट्न सम्बन्धित विद्यार्थीलाई मनोचिकित्सक कोइरालाको सुझाव छ । घरमै बसेर स्कुल गएकोजस्तै गरेर बिहान ९ बजेदेखि विभिन्न विषय पढ्न सकिने उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया