उज्यालो समाचार प्रभाव : बालगृहबाट ३३ बालबालिकाको उद्धार, सञ्चालक पक्राउ

 जेठ १२, २०७५ शनिबार १९:४८:० | राजु लामिछाने
unn.prixa.net

रुकुम, जेठ १२ – विभिन्न प्रलोभन देखाएर मापदण्ड नपुगेको बालगृहमा राखिएका ३३ जना बालबालिकाहरुलाई शनिबार उद्धार गरिएको छ ।

 

रुकुमको मुसीकोट नगरपालिकामा रहेको नर्सिङ्ग हिमालय अनाथ बालगृह नेपालमा राखिएका ३३ जना बालबालिकाहरुको पारिवारिक पुनस्र्थापनाको लागि उद्धार गरिएको हो । जिल्ला बाल कल्याण समिति रुकुम र जुम्लाको संयुक्त प्रयासमा बालबालिकाहरुको उद्धार गरिएको हो । जुम्ला जिल्ला पातारासी गाउँपालिका–१ र २, का २४ जना र रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाका ९ जना बालबालिकालाई उद्धार गरिएको हो ।

 

जुम्लाबाट ल्याइएका २४ जनालाई बाल संरक्षण निरीक्षक हर्कबहादुर महतको समन्वयमा राखिएको छ भने रुकुम पूर्वमा ९ जना बालबालिकाहरुलाई मुसीकोट नगरपालिका–५, का वडा अध्यक्ष सुशील गौतमको समन्वयमा राखिएको छ ।

 

बालगृहको मापदण्ड नपुगेको, अनाथहरुको नाममा बुवाआमा भएका बालबालिका ल्याएको, बालगृह सञ्चालनको लागि आर्थिक श्रोत नखुलेको लगायतका विषयमा यसअघि उल्यालोमा समाचार प्रशारण/प्रकाशन गरिएको थियो । लगत्तै मुसीकोट नगरपालिकाले बालगृहको अनुगमन र अनुसन्धान थालेको बाल कल्याण अधिकृत मानवीर ओलीले बताउनुभयो । 

सञ्चार माध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बालबालिकाको तत्काल उद्धारका लागि महिला तथा बालबालिका कार्यालय जुम्लालाई ताकेता गरेका थियो ।

विभिन्न निकायको दवाव र प्राप्त सूचनाको आधारमा रुकुमको महिला बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिमा बालबालिका उद्धार तथा पुनस्र्थापनाको लागि समन्वय गरिएको जुम्लाका बाल संरक्षण निरिक्षक हर्कबहादुर महतले बताउनुभयो । जुम्लाबाटै गाडी ल्याएर बालबालिकाको पुनस्र्थापनाको लागि रुकुम पुगेको उहाँले जानकारी दिनुभयो । 

उद्धारपछि बालबालिकाहरुले बालगृहमा यातना दिने गरेको, राम्रो खाना नदिएको, लत्ता कपडा नदिएको, पढाई समेत नराम्रो भएको बताएका छन् । पातारासी–२, जुम्लाका १३ वर्षीय तीर्थराज सार्कीले बालगृहमा आफूरुलाई दिनभर थुनेर राख्ने गरेको, शिक्षकहरुले चरेस, जाँड खाएर पिट्ने गरेको समेत बताउनुभयो । 

बाल गृह सञ्चालक विवेक बुढाले पारिवारिक र आर्थिक अवस्था नाजुक भएकाले पठन–पाठनका लागि ल्याएको बताएता पनि बन्धक बनाएर राखेकोले तत्काल मुद्धा हालिने बाल संरक्षण निरीक्षक हर्कबहादुर महतले बताउनुभयो ।

 

पातारासी गाउँपालिका–१, जुम्लाका अध्यक्ष दत्तबहादुर बुढा र २ नम्बर वडा अध्यक्ष कर्ण बोहोराले आर्थिक अवस्था कमजोर रहेको भनेर जिल्लामै अध्ययनको व्यवस्थाको लागि सिफारिस पठाइएता पनि जानकारी बिना नै रुकुम पुर्याइएकोमा आपत्ति जनाएका छन् । पातारासी गाउँपालिका–१, जुम्लाका २०, त्यसै गाउँपालिका वडा नम्बर २ का ४ जना गरी २४ छन् । जसमध्ये १० बालिका छन् भने १४ जना बालक छन् । 

बालबालिकाका अभिभावकहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर बच्चाहरु ल्याएको देखिन्छ । उच्च शिक्षा अध्ययन गराइदिने र त्यतिन्जेलसम्म कुनै पनि खर्च नलाग्ने भन्दै फकाएको पातारानि गाउँपालिका–२, का भैरे सार्कीले बताउनुभयो । 

बालगृह सञ्चालक पक्राउ

यसैबीच नरसिङ हिमालय अनाथ बालगृहका सञ्चालक विवेक बुढालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाहिरका बालबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारेर ल्याएको, अनाथहरुको नाममा आमाबुवा भएका बालबालिका राखेको, प्रति बालबालिका भर्नाको नाममा २ हजार पाँच सय असुलेको लगायतका विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताउनुभयो ।

 

उहाँले अनाथालयको नाममा धर्म परिवर्तनको खेल खेलेको हुन सक्ने भन्दै अनुसन्धान पूरा नहुन्जेल थप केही भन्न नसकिने बताउनुभयो । 

मापदण्ड पूरा गर्न आनाकानी भयो  

नरसिङ हिमालय अनाथ बालगृहले कानूनी प्रक्रिया पूरा गरेता पनि बालगृह सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गरेको छैन । बालगृहले खान, बस्नको राम्रो प्रबन्ध गरेको छैन । बालगृह सञ्चालनका लागि आर्थिक स्रोत पनि देखाउन नसकेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताउनुभयो ।

 

अनुगमनको क्रममा पटक–पटक सुधार तथा मापदण्ड पूरा गर्न दवाव दिए पनि सञ्चालकले आनाकानि गरेको उहाँको भनाई थियो । 

 

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया