नारायणगढ मुग्लिन सडकखण्ड : दुर्घटना कम गराउन सडक सुरक्षा संरचना जडान

 साउन १२, २०७५ शनिबार १४:२५:२६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको निर्माणको काम सकिएपछि सडक सुरक्षाका लागि संरचना बनेका छन् ।

सडक सहज हुँदा दुर्घटना बढ्ने भएकाले सडकको सुरक्षाका लागि संरचना बनाइएको हो । सडकखण्ड सहज हुँदा सवारी चालकले तीव्र गतिमा सवारी चलाउने गरेका कारण दुर्घटना बढ्ने भएकाले सडक सुरक्षाका लागि आयोजनाले अहिले सडक सुरक्षाकाका संरचना बनाइरहेको आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

सडकखण्डमा दुर्घटना न्यूनिकरण गर्न र यात्राका क्रममा सुरक्षित यात्रा गर्न सुरक्षा संरचना बनाइएको उहाँले बताउनुभयो । सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडकखण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ ।

 

झण्डै ४० हजार डलर बराबरको काम चिनियाँ कम्पनीले निःशुल्क गरिदिएको हो । चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको खनालले बताउनुभयो । 

मुग्लिन नजिकै स्याउलीमा २०० मिटर र पाँच किलोमा ३०० मिटर केबल बेरियर सिस्टम जडान गरिएको उहाँले बताउनुभयो । नेपालमा पहिलो पटक जडान गरिएको केवल विश्वका अन्य राष्ट्रहरुमा प्रयोग हुँदै आएको छ भने ३० टनसम्मको सवारी साधनलाई रोक्न सक्ने क्षमता भएको उहाँले बताउनुभयो । सडक खण्डमा कालोपत्रे गर्ने कार्य सकिएपछि सडक किनारामा चिनो लगाइएको छ । 

यसरी चिनो लगाइएको सडकमा सवारी चालकलाई आफ्नो लाइनमा सवारी चलाउन सहज भएको छ । सडकखण्डको बजार क्षेत्र र मानिसहरुको बाटो क्रस हुने क्षेत्रमा जेब्रा क्रसिङ्ग बनाइएको खनालले बताउनुभयो ।

सडकको किनारमा वल्क निर्माण गरी सेफ्टी ब्यरियर राखिएको छ । ७५ सेन्टिमिटर हाइटमा एक मिटरको ग्यापमा सेफ्टी ब्यरियर निर्माण भएको जानकारी दिँदै उहाँले सडकको किनरामा हरेक १ मिटरको ग्यापमा १ मिटर हाइटका ग्यावीङ्ग निर्माण गरिएको जानकारी दिनुभयो ।

सडकका किनारमा डब्लु विम स्टिल ब्यारीयर पनि राखिएका छन् ।  ७० सेन्टिमिटरको हाइटमा रहने गरी बनाइने डब्लु विम ब्यारीयरमा स्टिलको ग्याल्वेनाइज पत्ता राखिएको छ । केही गरी सवारी सडकको किनारमा ठोकिन पुगेमा सुरक्षीत रहन सक्ने गरी डब्लु विम ब्यारीयर बनाइएको खनालले जानकारी दिनुभयो । 

नारायणगढदेखि मुग्लिनसम्मको सडकखण्डमा दुई स्थानमा मात्र आरसीसी सेफ्टी ब्यारीयर राखिएको जानकारी दिँदै उहाँले  आरसीसी गरेर तयार पारिएको यो संरचनामा फलामका छड सिमेन्ट प्रयोग गरेर बनाइएको बताउनुभयो । घुमाउने र कालिखोला नजिक आरसीसी सेफ्टी ब्यारियर राखिएको छ । 

सडकखण्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइन बोर्ड राखिएका छन् । बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षीत यात्राका लागि दिने संकेतसहितको ट्राफिक साइन बोर्ड रहने जानकारी दिँदै जिल्ला टाफिक प्रहरी कार्यालयले चितवनका प्रमुख वेदप्रसाद गौतमले बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त हुने भएकाले सवारी दर्घटना कमी आउने बताउनुभयो ।  

सडक खण्डमा रहेका १८ वटा पुल नजिकै रम्बल स्टिप राखिएको छ । सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्बल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्ने छ । चालकलाई पुल क्षेत्रमा सवारी चलाउँदा सजग गराउन रम्बल स्टिपले काम गर्ने छ । पुलको ७० मिटर अगाडि र ७० मिटर पछाडि रम्बल स्टिप राखिएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया