कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका ५ जना क्वरेन्टीनमा

 चैत २३, २०७६ आइतबार १९:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - कैलालीका कोरोना सङ्क्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जनामध्ये ५ जनालाई आइतबार बेलुकीदेखि क्वरेन्टीनमा राखिएको छ । 

घोराही उपमहानगरपालिका-४, तार्केनिगाउँका ५ जनालाई कोरोना अस्पताल बेलझुण्डिको क्वरेन्टीनमा राखिएको हो । उनीहरुको स्वाब टेस्टको नमुना सोमबार  पठाइने भएको छ ।

अन्य ५ जना पनि सम्पर्कमा आएको र उनीहरुलाई पनि कोरोना अस्पताल बेलझुण्डी ल्याउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुसँगै आएका कैलालीका एक जनामा शनिबार कोरोना भएको पुष्टि भएको थियो । सङ्क्रमित युवासँगै आउनेहरुमा  घोराही उपमहानगरपालिका ४ का ६ जना रहेका छन।

घोराही-४ का २२ वर्षीय दुई जना, १७ वर्षका एक जना, २६ वर्षको एक जना, २९ वर्षको एक जना र साविक सोनपुर-२ का १९ वर्षका एकजना सबै भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन्।

भारतको चेन्नइबाट आएका लमही-५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि सङ्क्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ ।

त्यस्तै राजपुर गाँउपालिका-८ का १९ र २६ वर्षका दुई युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया