नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

 साउन १२, २०७५ शनिबार १४:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - २०७५ सालभित्र नेपालले तीन ठूला प्रतियोगितामा सहभागिता जनाउँदैछ ।

इण्डोनेसियाको जाकार्तामा हुने १८औं एसियाली खेलकुदको सहभागितापछि आउँदो मंसिरमा मध्यपश्चिममा आठौं राष्ट्रिय खेलकुद हुँदैछ भने फागुन चैतमा १३औं दक्षिण एसियाली खेलकुद नेपालमै आयोजना हुँदैछ ।
 
नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद नजिकिँदैछ । प्रतियोगिता अयोजना त गर्ने भनियो, तर कहाँ गर्ने ? भन्ने प्रश्न अझ पनि नेपाली खेलकुदलाई नजिकबाट नियाल्नेहरुको मनमा छ ।

प्रतियोगिता आयोजनाका लागि रंगशाला नै छैन भन्दा पनि हुन्छ । प्रतियोगिता सुरु हुनका लागि अब करिब नौ महिना समय बाँकी छ । यस समयमा पूरा हुनुपर्ने कामहरु भने धेरै नै बाँकी छन् ।

 प्रतियोगिता काठमाडौं र पोखरामा आयोजना गर्ने तयारी भइरहेको छ । तर अहिले दशरथ रंगशालाको मर्मत कार्य जारी छ । दशरथ रंगशालालाई मुख्य भेन्यू बनाएर विभिन्न स्थानमा प्रतियोगिता आयोजनाको तयारीमा राष्ट्रिय खेलकुद परिषद् छ ।
 
राष्ट्रिय खेलकुद परिषदको लगानी र चीन सरकारको सहयोगमा रंगशाला पुनर्निर्माण भइरहेको हो । रंगशालाको प्याराफिट पुनर्निर्माण गर्ने काम अहिले भइरहेको छ ।

तीन महिनामा प्याराफिटको काम सकिएपछि चीन सरकारले बनाइदिने भनेको एथ्लेटिक्स ट्र्याक र स्कोरबोर्ड निर्माणको काम सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले फागुनको अन्तिममा आयोजना हुने १३औं सागका लागि रंगशाला तयार हुने दावी गरे । 


‘खेलकुद क्षेत्रकै एउटा धरोहरका रुपमा रहेको यो रंगशालाको काम द्रुत गतिमा अघि बढिरहेको छ ।

हामी अबको तीन महिनाभित्रमा प्याराफिटको पुनःनिर्माण, भिआइपी प्याराफिटमा छाना हाल्ने काम सकिन्छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले भने ।
 
‘साउण्ड सिस्टम, सिन्थेटिक ट्र्याक, फ्लड लाइट र स्कोरबोर्डको काम चिनिया सरकारसँगको सम्झौता अनुसार फेब्रुअरीको अन्तिम सम्ममा सकिनेछ ।’

तर पनि एउटा रंगशाला सात देशबाट आउने २७ खेलका खेलाडीका लागि पर्याप्त भने हुनेछैन ।

यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा उपलब्ध विभिन्न मैदानलाई प्रयोग गर्ने योजना बनाएको छ । विभिन्न खेलका लागि प्रतियोगिता आयोजना गर्ने र अभ्यास गर्ने छुट्टा–छुट्टै मैदानको आवश्यकता पर्दछ ।

सदस्यसचिव विष्टले केही पूर्वाधार एक महिनाभित्र नै तयार हुने र केही पूर्वाधार भने प्रतियोगिता सुरु हुन अगावै पूरा हुने बताए ।

‘केही पूर्वाधार एक महिनामा नै तयार हुन्छ भने केही पूर्वाधारका लागि तीन महिना र केही ६ महिनामा निर्माण सम्पन्न हुनेछ । सबैको प्रकृया अघि बढिसकेको छ ।
‘पूर्वाधारका कारणले दक्षिण एसियाली खेलकुद रोकिनेछैन ।’ सदस्यसचिव विष्टले ठोकुवा गरे ।

तर पनि दक्षिण एसियाली खेलकुद आयोजनामा अन्य विभिन्न पक्षहरु छन् जसले गर्दा प्रतियोगिता प्रभावित हुन सक्छ ।

सरकारले विनियोजन गर्ने बजेट, राजनैतिक अस्थिरता, खेलकुद संघहरुको विवाद जस्ता घटना नभए १३औं साग आयोजनाको विषयमा शंका गर्नु पर्ने अवस्था नरहेको दावी सदस्यसचिवको छ ।

‘अहिले राष्ट्रिय खेलकुद परिषद्लाई दिइएको जिम्मेवारी भनेको पूर्वाधार निर्माण हो । यसलाई हामीले समयभन्दा अघि नै पूरा गर्छौँ’, सदस्यसचिव विष्टको भनाई छ ।

पूर्वाधारको अभाव रहेको प्रदेश ५ मा यही मंसिरमा आठौं राष्ट्रिय खेलकुद पनि आयोजना हुँदैछ ।

त्यसका लागि त अब चार महिनाको समयमात्र बाँकी छ ।

सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिमको नेपालगञ्जलाई केन्द्रमा राखेर त्यस आसपासका जिल्लाहरुमा आयोजना गर्न भौतिक पूर्वाधार निर्माण पक्रियालाई तीव्रता दिइएको बताए । 

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने स्थान बाँकेको नेपालगञ्ज रंगशालाको पुनःनिर्माणको काम पनि द्रुतगतिमा भइरहेको छ । रंगशालाको पिच, ट्र्याक प्याराफिट लगायतको स्तरोन्नतीको काम भइरहेको सदस्य सचिव विष्टको भनाई छ ।

महिला फुटबल भने दाङमा हुनेछ । कतिपय कभर्डहलहरु बन्ने क्रममा छन् भने कतिपयको काम भर्खरमात्र सुरु हुँदैछ । क्रिकेट भैरहवामा हुनेछ ।

तर पनि कोहलपुरलाई पनि वैकल्पिक भेन्यूका रुपमा राखिएको सदस्यसचिव विष्टले बताए ।

‘पूर्वाधार निर्माणको काम योजना अनुशार अघि बढिरहेको छ । दशैंसम्म ३५ खेललाई आवश्यक पर्ने पूर्वाधारको काम ९० प्रतिशत सकिनेछ । बाँकी १० प्रतिशत प्रतियोगिता अघि सम्पन्न हुनेछ’, सदस्य सचिव विष्टले दाबी गरे ।

हतारमा निर्माण सम्पन्न हुँदा गुणस्तरको कुरा पनि आउँछ । अघिल्ला संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्दा निर्माण भएका संरचनाहरु पूर्ण हुन नपाउँदै भत्किएका छन् ।

कतिको गुणस्तर हुनेछन् यी पूर्वाधार ? भन्ने हामो प्रश्नमा सदस्य सचिव भन्छन्, ‘पूर्वाधारहरु सानो र कम क्षमताका बन्लान, सुविधा भनेजस्तो नहोला तर गुणस्तरको सवालमा औंला उठाउनु पर्नेछैन् । सबै संरचनाका लागि प्रकृया पूरा गरेर काम गरेका छौँ । हतपतमा काम गरेका होइनौं ।’
 
आउँदो मंसिर २१ खदेखि २८ सम्म प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।

प्रतियोगिताका अधिकांश खेलहरु बाँकेको नेपालगञ्ज रंगशालामा हुनेछ । त्यसबाहेक दाङ, रुपन्देही र कपिलवस्तुमा पनि केही खेलहरु आयोजना गरिने सदस्य सचिव विष्टले जानकारी दिए ।

पौडी र गल्फका खेलहरु भने काठमाडौंमै आयोजना गरिने उनले बताए । ‘पौडी पोखरी बन्दैछ । समयमा नै सम्पन्न गर्नेछौँ । तर जाडो मौसममा पौडी खेल खेलाउन नसकिने भएकाले त्यसलाई काठमाडौंमा नै गराउने तयारीमा छौँ । गल्फ पनि काठमाडौंमा नै गराउछौँ ।’

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया