कोरोना सङ्क्रमण अर्को चरणमा प्रवेश गर्न नदिन सहयोग गर्न आग्रह

 चैत २४, २०७६ सोमबार ११:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो चरणमै रोक्नका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

नेपालमै रहेका व्यक्तिमा कोरोना सङ्क्रमण सरेको पुष्टि भएसँगै दोस्रो चरणमा पुगेको भन्दै तेस्रो चरण अर्थात् महामारीको अवस्थामा प्रवेश गर्न नदिन सबैको सहयोग आवश्यक रहेको सरकारले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अनुसार विदेशबाट आएका व्यक्तिबाट परिवार वा समुदायका अर्को व्यक्तिमा कोरोना सर्नु दोस्रो चरण हो भने कसले कसलाई सारेको हो भन्ने थाहा नहुनु कोरोनाको तेस्रो चरण अर्थात महामारीको अवस्था हो ।

नेपालमा महामारीको अवस्था आउन नदिन सबैको सहयोग आवश्यक भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार व्यक्तिबिचको दुरी कायम गर्नु नै कोेरोनाबाट बच्ने मुख्य उपाय हो । साबुन पानीले मिचीमिची हात धुने, घर र आँगन सफा राख्ने, सतहमा छोइसकेपछि हात नधोइकन नाक, आँखा र मुख छुने बानी हटाउनुपर्छ । यस्तै विदेशबाट आएका व्यक्ति वा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिले झन् सावधानी अपनाउनुपर्नेमा डाक्टर देवकोटाको जोड छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको र सावधानी नपनाउँदा फैलिएको अरु देशको अवस्थाबाट पनि थाहा पाउन सकिने भएकाले क्वरेण्टीनमा बस्दा पनि सावधानी अपनाउन उहाँको सुझाव छ । एक जनाले सजगता अपनाउँदा व्यक्तिमात्र नभइ परिवार, छिमेकी र देश नै कोरोनाको सङ्क्रमणबाट बच्ने भएकाले उच्च सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया