कृषि उपज बिक्री नभए त्यसको मूल्य नगरपालिकाले दिने

 साउन १२, २०७५ शनिबार १७:१८:२९ | उज्यालो सहकर्मी

रुकुम पश्चिम – चौरजहारी नगरपालिकाले नगरवासीलाई कृषि पेशामा आकर्षित गर्नका लागि विशेष कार्यक्रम ल्याएको छ ।

व्यवसायिक कृषि पेशामा युवाहरुको आकर्षण बढाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ । नगरपालिकाले व्यवसायिक कृषि पेशामा लागेका नगरपालिका भित्रका कुनै पनि कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभए त्यसको जिम्मा आफैले लिने भएको हो । कृषकले उत्पादन गरेको ठूलो मात्राको कृषि उपज बिक्री नहुँदा लाखौं घाटा व्यहोर्न पर्ने र यसकै कारण कृषि पेशाबाट पलायन हुन नपरोस भनेर नगरपालिकाले कृषकले उत्पादन गरेका बस्तु बिक्री नभएमा त्यसको जिम्मा आफैले लिने नीति बनाएको हो । 

कृषिमा व्यवसायिकरण आवश्यक रहेको र अहिलकै अवस्थामा कृषिमा व्यवसायिकरण नहुने देखिएपछि यस्तो व्यवस्था ल्याइएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो । ‘अहिले निर्वाहमुखी रुपमा खेतीपाती भैरहेको छ, यसरी कृषिबाट फाइदा सम्भव छैन्’, उहाँले भन्नुभयो, ‘कृषिमा व्यवसायिकरण हुनैपर्छ, हामी कृषिमा व्यवसायिकरण ल्याउन प्रयास गरिरहेका छौं ।’

बढीभन्दा बढी नगरवासीलाई व्यवसायिक कृषि पेशामा लाग्न प्ररेरित गर्नका लागि उनीहरुले उत्पादन गरेको कृषि उपजको बजार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको नगर प्रमुख शर्मा बताउनुहुन्छ । ‘आफूले उत्पादन गरेको बस्तुले बजार नपाउने हो कि भन्ने डरले पनि धेरै मान्छेहरु कृषिमा आकर्षित छैनन्’, नगर प्रमुख शर्माले भन्नुभयो, ‘यो पेशामा लागेका व्यक्तिहरुले लगानीको मूल्य पनि उठाउन नसकेपछि अन्य पेशामा पलाएन भएका छन् । त्यसलाई हामी रोक्ने प्रयास गछौं ।’

व्यक्तिगत वा सामूहिक रुपमा व्यवसायिक कृषि पेशा अंगालिरहेका कृषकले नगरपालिका कार्यालयमा पूर्व जानकारी गराएमा उत्पादन भएको कृषि सामाग्रीले बजार नपाए त्यसको मूल्य नगरपालिकाले दिने गरी कृषि नीति बनेको नगरपालिकाले जनाएको छ ।

‘यो सेवाका लागि व्यवसायिक कृषक हुन जरुरी छ । यस नीति सानो परिमाणमा कृषि उपज उत्पादन गरी बिक्रि नभएको हकमा भने लागू हुने छैन् । कसैले १ लिटर दूध वा एक डोको तरकारी उत्पादन गरी बिक्री नभएमा त्यसको मूल्य दिन्छौं भनेका होइनौँ’, नगरप्रमुख शर्माले भन्नुभयो, ‘ठूलो मात्रामा उत्पादन गरेर बिक्री नभए त्यसको मूल्य दिने भनेका हौँ ।’    


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया