दिपेश धामीलार्इ सिंगल र मिक्स डबल्सकाे उपाधि

 साउन १२, २०७५ शनिबार १८:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिण्टनमा एपीएफका दिपेश धामीले दोहोरो उपाधि जितेका छन् । 

उनले पुरुष एकल र मिक्स डबल्सको उपाधि जितेका छन् । तीन स्पर्धाको फाइनलमा पुगेका धामीले दुई उपाधि जितेका हुन् ।
 
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको फाइनल स्पर्धामा धामीले पुरुष एकलतर्फ सिल्कका प्रिन्स दाहाललाई पराजित गरे । 

उनले दाहालविरुद्ध २१–११ र २१–१० को जित निकालेका हुन् ।
 
त्यस्तै मिक्स डबल्समा पनि उनले एपीएफकै पूजा श्रेष्ठसँग मिलेर त्रिभुवन आर्मीका नङशल तामाङ र प्रफुल महर्जनको जोडीलाई २२–२० र २१–१७ को सेटमा हराउँदै स्वर्ण जिते ।

यता पुरुष डबल्सतर्फको उपाधि भने भारतीय जुम्ल्याहा दाजुभाइ रञ्जन बुरागोहाइ र अञ्जन बुरागोहाइले जिते ।

प्रतिस्पर्धात्मक फाइनलमा उनीहरुले एपीएफका विजित थापामगर र दिपेश धामीलाले जोडीई पराजित २१–१९ र २१–१७ ले पराजित गरेका हुन् ।
 
महिला एकलतर्फ भने पाकिस्तानी खेलाडी शाहजाद माहूर च्याम्पियन बनिन् । उनले आर्मीकी रशिला महर्जनलाई २१–१५ र २१–१० ले पराजित गर्दै स्वर्ण जितिन् ।
 
प्रतियोगिता अन्तर्गत यू–१९ ब्वाइजतर्फ सिल्कका प्रिन्स दाहालले आर्मीका प्रफुल महर्जनलाई २१–१५ र २१–१९ ले हराउँदै स्वर्ण जिते । 

पुरुष एकलमा पराजित भए पनि प्रिन्सले यू–१९ तर्फको उपाधि जित्न सफल भए ।
 
यू–१९ गर्ल्समा आर्मीकी रशिला महर्जनले स्वर्ण जितिन् । उनले नेपाल पुलिसकी जेशिका गुरुङलाई पराजित गरेकी थिइन् । 

महिला एकलमा पराजित भए पनि रशिलाले यू–१९ तर्फको उपाधि जित्न सफल भएकी हुन् ।
 
यता कर्पोरेट पुरुष सिंगल्सको उपाधि महालक्ष्मी पेण्ट्सका विकाश महर्जनले जितेका छन् । 

फाइनलमा उनले अभिशेक बोसलाई पराजित गरे । 

पुरुष एक्जुकेटिभ सिंगल्सको उपाधि जेष्ठ ब्याडमिण्टन क्लबका सुनील जोशीले कामना सेवाका बिशाल खड्कालाई २१–१५ र २१–११ ले हराउँदै जिते ।
 
६ दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका ४०० भन्दा बढी खेलाडीहरुले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा स्वर्ण विजेताले २ तोला सुन, रजत विजेताले १ तोला सुन र काश्य विजेताले आधा तोला सुन पुरस्कार पाए । 

विजेता खेलाडीहरुलाई नेकपाका सह–अध्यक्ष प्रचण्ड, राखेप सदस्य सचिव केशवकुमार विष्ट लगायतले पुरस्कार वितरण गरे ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया