निर्माण सुरु भएको चार वर्षमा पनि बनेनन् पुल !

 साउन १२, २०७५ शनिबार १८:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ –  दाङका  खोलामा निर्माणाधीन पुल समयमै निर्माण नहुँदा यात्रुलाई समस्या हुने गरेको छ ।

लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

जसमा अधिकांश खोला तथा नदीमा पुल निर्माणको काम भइरहे पनि काम भने सन्तोषजनक छैन । पुल निर्माण कतिपय खोलामा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था भने लथालिंग रहेको छ । पुल निर्माणको सम्झौता भएको वर्षै बितिसक्दासमेत अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन नसक्दा आफूहरुले यात्राको क्रममा निकै सास्ती खेप्नुपरेको स्थानीय करवीर पुनले बताउनुभयो ।

पुल निर्माण नहुँदा वर्षायाममा नागरिकले सास्ती बेहोर्नुपरेको छ । पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्सन नहुँदा वर्षातको समयमा यातायात सञ्चालनमासमेत समस्या हुने गरेको छ । खोलामा भरपर्दो डाइभर्सन नहुँदा खाल्डाखुल्डी हुने र सवारी साधन चलाउँदा समस्या हुने गरेको छ ।

खोलामा पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपर्युक्त डाईभर्सन नहुँदा सवारीसाधन चलाउँदा समस्या हुने गरेको चालकले बताउने गरेका छन् । वर्षातको समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडकखण्डका खोलामा सवारी साधान चलाउन समस्या हुने गरेको चालक पूर्ण वलीले बताउनुभयो  ।   

तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकको गुनासो छ । वर्षौ–वर्षसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण नागरिकलाई दुःख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने नागरिकको माग छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया