२५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण देखिएकाे छैन : अध्ययन

 चैत २८, २०७६ शुक्रबार ९:३९:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – केही प्रतिशत व्यक्तिमा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएकाे एक अध्ययनले देखाएको छ ।

न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनले लक्षण नै नदेखिएका व्यक्तिबाट कोरोनाको सङ्क्रमण फैलिरहेको देखाएको हो । तर लक्षण नदेखिएका मानिसबाट सङ्क्रमण फैलिन नदिन कुनै तयारी नभएको अध्ययनमा उल्लेख छ । २५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

'कोरोना भाइरस देखिएका मध्ये २५ देखि ५० प्रतिशतमा कुनै लक्षण देखिएको छैन तर पनि सङ्क्रमित हुन सक्छन्', डा. एन्थोनी फौसीले भनिन् ।

सन् २००३ मा देखिएको सार्सको सङ्क्रमण भने बिरामी भएको सातदेखि १० दिनपछि मात्रै फैलिने गरेकाले सङ्क्रमणबाट बच्ने उपाय अपनाउन पर्याप्त समय हुने गरेको पाइएको थियो । तर कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीमा लक्षण देखिनु ४८ घण्टाअघि नै सङ्क्रमण फैलिन थाल्ने भएकाले धेरैमा सङ्क्रमण भएको पाइएको अध्ययनमा उल्लेख छ ।

कोरोनाको सङ्क्रमण अहिलेसम्म विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै साढे ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै अमेरिकामा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १५ हजारभन्दा धेरै, फ्रान्समा १२ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया