टेलिशृंखला सिंहदरबार–२ को प्रसारण अाजबाट

 साउन १२, २०७५ शनिबार १९:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको टेलिशृंखला सिंहदरबार–२ को प्रसारण साउन १२ गते शनिबारदेखि हुने भएको छ ।

१३ भाग रहेको टेलिशृंखला नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८ बजेर ५० मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म प्रसारण हुनेछ ।

टेलिश्रृंखलाको पूनः प्रसारण सोमबार दिउसो १ बजेर ५ मिनटमा हुनेछ । 

टेलिशृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित गरिएको सर्च फर कमन ग्राउण्डले जनाएको छ । 

यो सिजनमा नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न  प्रधानमन्त्री बनेकी पात्र आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । 

टेलिशृंखलामा नेपालको पहिलोे महिला प्रधानमन्त्रीको भूमिका अभिनेत्री गौरी मल्लले निर्वाह गर्नुभएको छ ।  

नवीन सुब्बाले निर्देशन गरेको टेलिशृंखलामा रमेशरञ्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकास घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विश्वकर्मा लगायतले अभिनय गरका छन् ।


टेलिशृंखला सिंहदरवार–२ को पटकथा लेखन अविनासविक्रम शाह र छिरिङ्ग छोदेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गर्नुभएको छ । 


पटकथा लेखन टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्गनिर्देशन गर्नुभएको हो । 


सर्च फर कमन ग्राउन्डका राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालले नेपालमा सुशासन र सहकार्यात्मक नेतृत्वका लागि मार्गचित्रका रूपमा प्रस्तुत गरिएको टेलिशृंखला सिंहदरबार–२ ले सहकार्यात्मक संस्कारको प्रवर्धनमा जोड दिने बताउनुभयो ।

सर्च फर कमन ग्राउण्डका मिडिया म्यानेजर प्रकाश लुर्इंटेलका अनुसार, देश संघिय संरचनामा प्रवेश गरेको सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहमा के कस्ता समस्या र चुनौती आउन सक्छन् र त्यसलाई समाधान गर्न तिनै तहका सरकारले के कस्तो बाटो अपनाउन सक्छन् भन्ने उपाय सिंहदरबार–२ मा प्रस्तुत गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया