करोडौं लगानीमा बनेको स्वास्थ्य संस्थाको भवन पहिरोको जोखिममा

 साउन १२, २०७५ शनिबार १९:५१:५९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – निर्माण सम्पन्न गरि जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण नगर्दै प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीको करोडौं मूल्यको भवन पहिरोको उच्च जोखिममा परेको छ । 

लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीमा रहेको भवन निर्माण गरेको धुकुछु सुनकोशी जेभीले भवन निर्माण सम्पन्न गरि चैत्र ३० गते भवन डिभिजन कार्यालय रामेछापलाई हस्तान्तरण गरेपनि जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण नगर्दै पहिरोको जोखिममा परेको हो ।

पहिरोले ३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको अगाडिको २७ मिटर पर्खालमा क्षति पुर्याएको छ । भवनको आँगनमा रहेको भाग चिरिएको छ ।

भवन भएको दक्षिणतर्फको भागमा पानीको मूल फुटेकाले भवन झनैै असुरक्षित भएको हो ।

भवनको आसपास कमजोर माटो रहेको र वर्षात्को समयमा सधैं पानीको मूल फुट्ने भएकाले यो स्थान भवन बनाउन उपयुक्त नभएको स्थानीय बृद्ध बलवहादुर थापाले  बताउनुभयो । 

कमजोर जमिन भएको ठाउँमा भवन बनाइएकाले जमिन भासिने र पहिरो जाने सम्भावना बढेकाले भवन र नजिकैको बस्ती पनि जोखिममा परेको स्थानीयवासिन्दाले जनाएका छन् । 

भवन नहुँदा उपचारमा समस्या भएपछि शहरी विकास तथा भवन डिभिजन विभागले २०६९ साल जेठमा भवन निमार्णको काम थालेको थियो । 

२०७० सालमा खिम्तीमा भएको भिषण वर्षा, २०७२ साल वैशाखको भूकम्प र नाकाबन्दी लगायतका कारणले निर्माणको म्याद थप हुँदै २०७५ चैत्र ३० गते काम सम्पन्न गरी भवन डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको धुकुछु सुनकोशी जेभीका प्रतिनिधि केशव महतले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाको दुईतले पक्की भवनमा भूकम्पले क्षति पुर्याएपछि प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले आँगनमा पाल टाँगेर स्वास्थ्य सेवा दिंदै आएको थियो ।

पालको नजिकै सुरक्षा गार्ड बस्ने भनेर बनाइएको २ कोठे भवनवाट अहिले स्वास्थ्य संस्था सञ्चालन भइरहेको छ । भवन अभावमा विरामी नाम दर्ता आँगनवाट नै हुने गरेको छ ।

अहिले एक कोठामा प्रसुति कक्ष र अर्को कोठामा प्रशासनिक काम, ओपीडि कक्ष, औषधी र बेडसमेत राखेर उपचार गराउनु पर्दा एकदमै गाह्रो भएको अहेव गंगा रिमालले बताउनुभयो ।

बिजुली लगायत समस्याका कारण अहिले रातिको समयमा इर्मेजेन्सी लगायत सबै प्रकारका उपचार सेवा बन्द गेको उहाँले बताउनुभयो ।

नयाँ भवनमा साउनदेखि सर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपनि भवन नै जोखिममा परेपछि सर्ने योजना नै अलपत्र परेको छ । 

जिल्ला भवन डिभिजन कार्यालय रामेछापको प्राविधिक टोलीले घटनास्थलको निरीक्षण गरी फर्किएको र तत्काल भवनको संरक्षण गर्न र जमिनको अवस्थाको वारेमा वुझ्न भुर्गभविद् झिकाएर अनुसन्धान थाल्न माथिल्लो निकायमा पत्राचार गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया