कांग्रेसलाई प्रचण्डको प्रश्न : शेरबहादुरजीले गराएको चुनावबाट बहुमत ल्यायौं, कसरी भयो अधिनायकवाद ?

 साउन १३, २०७५ आइतबार ५:५०:३ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुको भनाईप्रति असन्तुष्टि जनाउनुभएको छ । नागरिकको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, 'नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन् । गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा हुँदैन ।' 

चुनावबाट पराजित भएपछि कांग्रेसले कम्युनिस्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको बताउँदै त्यसले गलत सन्देशसमेत दिएको बताउनुभयो । 

'शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो । आज उहाँहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहनु भएको छ । कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ' उहाँले भन्नुभयो । 

अध्यक्ष दाहालले गलत आलोचनाभन्दा पनि वैज्ञानिक र वस्तुवादी ढंगले आएका आलोचनाको स्वागत गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रुपमा कार्यसूची सकिएपछि केही राजनीतिक शक्ति अनावश्यक बखेडा झिक्ने र सरकारलाई असफल बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेको भन्दै गलत व्यवहार र प्रवृत्तिलाई नागरिले नै ठेगान लगाउने बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया