प्रश्न–पत्र आउट भएको विषयमा केन्द्राध्यक्षले प्रष्ट पारे, छानविन गर्न विद्यार्थी संगठनको माग

 साउन १३, २०७५ आइतबार ११:४३:३५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – शनिवार सीटीईभीटी अन्तर्गत देशैभर भएको वर्गीकृत छात्रवृति परक्षा अन्तर्गत अन्तर्गत एच.ए.को प्रश्न–पत्र जनकपुरबाट आउट भएकोको विषयमा केन्द्राध्यक्षले प्रष्ट पारेका छन् । प्रश्न–पत्र आउट भएको परक्षा केन्द्र जनकपुरको संकटमोचन उच्च माविका प्रधानाध्यापक समेत रहेका केन्द्राध्यक्ष बलराम साहले परीक्षा शुरु भएको १ घण्टा २० मिनेट पछि एक विद्यार्थीले झुक्याएर एचएको प्रश्न–पत्र आउट गरेको प्रष्ट पार्नु भएको हो ।

निःशुल्क अध्ययनको लागि सिटीईभीटीबाट सञ्चालित वर्गीकृत छात्रवृति परीक्षा शनिवार विहान ७ बजेदेखि सवा ९ बजेसम्म चलेको थियो । परीक्षा शुरु भएको केहि बेरमै जनकपुरको संकटमोचन उच्च मावि परीक्षा केन्द्रबाट समाजिक सञ्जाल मार्फत एचएको प्रश्न–पत्र आउट भएको समाचार परीक्षा चलिरहेकै बेला उज्यालो अनलाईनमा सार्वजनिक भएको थियो ।

‘परीक्षा केन्द्रमा जडान भएको सीसीटीभी क्यामेराको फुटेजमा एक परीक्षार्थी ८ बजेर २० मिनेटमै परीक्षा सकेर प्रश्न–पत्र लिएर बाहिरीदा परीक्षा केन्द्र अगाडि रहेका व्यक्तिहरुले एकआपसमा सेयर गरी समाजिक सञ्जालमा राखेका थिए,’ केन्द्राध्यक्ष साहले भन्नुभयो ‘ त्यसपछि प्रहरीले ती परीक्षार्थीबाट प्रश्नपत्र खोसेका थिए त्यो कुरा फुटेजमा देखिन्छ । तर पैसाको चलखेल गरी पश्नपत्र आउट गरेर परीक्षार्थीलाई चिट चोरी गराएको हल्ला अफवाह हो । विद्यालयलाई बदनाम गराउन खोजेको हो ।

समाजिक सञ्जाल र समाचारहरुमा सार्वजनिक भएको प्रश्नपत्रको नम्बर ती परीक्षार्थीबाट खोसिएकै पश्नपत्रको नम्बरसँग मिलेकाले त्यही प्रश्नपत्र आउट रहेको केन्द्राध्यक्ष साहको तर्क छ । उहाँले परीक्षा हल भित्र परीक्षार्थी र गार्डलाई समेत मोबाइल प्रयोग गर्न नदिएकाले समाजिक सञ्जालमार्फत नभई ती निस्केका परीक्षार्थीले नै प्रश्न–पत्र आउट गरेको दाबी गर्नुभयो । परीक्षा शुरु भएको १ घण्टा पश्चात प्रश्नपत्र आउट हुनुलाई आउट भएको भन्न नमिल्ने समेत केन्द्राध्यक्ष साहको जिकिर छ ।

जनकपुरका केही कोचिंग सेन्टरले निःशुल्क छात्रवृतिमा नाम निकालिदिने भन्दै परीक्षार्थीबाट रकम लिई केन्द्राध्यक्ष समेतलाई प्रभावमा पारी चिट चोराउने गरेका छन् । स्रोतका अनुसार संकटमोचन परीक्षा केन्द्रको कोठा नं. १०८ र १०९ मा रकम दिएका परीक्षार्थीलाई खोजी खोजी मौखिक रुपमा चिट चोरी गराउन सहयोगी नै पुगेका थिए ।

सीटीईभीटीको वर्गीकृत छात्रवृति परीक्षा चार वर्षपछि जनकपुरमा शनिबार भएको थियो । परीक्षाको लागि जनकपुरको ककल भवन कन्या उच्च मावि र संकटमोचन उच्च मावि परीक्षा केन्द्रमा परीक्षा चलेको थियो ।  

विगत वर्षहरुमा पनि जनकपुरमा सीटीईभीटी अन्तर्गतका प्रवेश परीक्षाहरुमा रकमको चलखेल गरी प्रश्नपत्र आउट गराउने र चीट चोरी गराउने गतिविधि भएको थियो । गए वर्ष मात्रै जनकपुरको नेपाल टेक्निकल इन्सिटिच्युटमा लाखौं रकमको सेटिंगमा सीटीईभीटी अन्तर्गतको प्रवेश परीक्षामा एचएको प्रश्नपत्र परीक्षा हुनु पूर्व नै आउट भएको थियो । 

प्रवेश परीक्षा पास गराउन लाखौंको सेटिङ, परीक्षा हुनु अघि नै प्रश्नपत्र बजारमा

सिटिइभिटी प्रवेश परीक्षामा लाखौँको सेटिङ : छानविन गर्न टोली गठन

प्रश्नपत्र आउट विषयमा छानविन गर्न विद्यार्थी संगठनहरुको माग

छात्रवृतिको परीक्षामा एच्.ए.को प्रश्न–पत्र आउट भएपछि जनकपुरका विद्यार्थी संगठनहरुको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ धनुषा, संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले छुट्टा छुट्टै प्रेस वज्ञप्ती जारी गर्दै प्रश्न–पत्र आउट भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विगतमा समेत सीटीईभीटीलगायत अन्य परीक्षाहरुमा समेत पैसाको चलखेल गरी चिट चोरी गराउने कार्य गरेर जनकपुरको शिक्षा क्षेत्रलाई बदनाम गराउने कार्य गरेकाले प्रश्न–पत्र आउट घटनाको छानविन गरी विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने उपर कडा कार्वाहीको माग विद्यार्थी संगठनहरुल गरेका छन् । मागलाई बेवास्त गरे कडा कदम चाल्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया