‘दौडधुप नगरी जिम्मेवारी पाएँ, निगमलाई अब्बल बनाउने कोसिस गर्छु’

 बैशाख ४, २०७७ बिहिबार ११:२८:३८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ–सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद्को  बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि ३ महिनादेखि यो पद खाली थियो । घिमिरे पूर्व पर्यटन सचिव हुनुहुन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गएको भदौमा गठन गर्नुभएको वायुसेवा निगम सुधार कार्यदलको नेतृत्व पनि घिमिरेले गर्नुभएको थियो ।  कार्यदलले निगमलाई सुधारसम्बन्धी धेरै सुझाव दिएको छ । कार्यदलको नेतृत्व गर्ने व्यक्ति नै कार्यकारी अध्यक्षमा नियुक्त भएपछि निगममा सकारात्मक परिवर्तन आउला भन्ने अपेक्षा गरिएको छ । नवनियुक्त कार्यकारी अध्यक्ष घिमिरेसँग अर्जुन पोख्रेलले गर्नुभएको सङ्क्षिप्त कुराकानी :

लामो समय पर्यटन मन्त्रालयमा काम गरेको व्यक्तिलाई सरकारले वायुसेवा निगमको जिम्मेवारी दियो । कतिको उत्साहित हुनुहुन्छ ?

राम्रो इतिहास बोकेको संस्थाको जिम्मेवारी आएको छ । यसबाट म उत्साहित नै छु । तर पहिलेजस्तो गौरव गर्ने अवस्थामा निगम अहिले छैन । यसलाई धेरै सुधार गर्नुपर्ने चुनौती छ । त्यसमाथि कोरोना भाइरसको कारण अहिले संसारभरका एयरलाइन्स बिजनेस सङ्कटमा छ । तर निगम सुधारको चुनौती र अवसर हेर्दा उत्साहित हुने ठाउँ धेरै देख्छु । कुनै न कुनै व्यक्तिले नेतृत्व त लिनैपर्छ, सुधार गर्नैपर्छ । यही आडभरोसा राखेर सरकारले मलाई जिम्मेवारी दिएको हुनुपर्छ ।

निगमको नेतृत्वमा आउने तपाईंको रहर हो या सरकारले तपाईंलाई आग्रह गरेर नेतृत्व लिइदिनुपर्यो भनेको हो ?

मैले चाहेर हुने कुरा भएन । सरकारले नै मलाई जिम्मेवारी दिएको हो । पर्यटन मन्त्रालयमा मैले ४ वर्ष उपसचिवको रुपमा काम गरेँ । डेढ वर्ष सचिवको रुपमा काम गरेँ । यसले केही गर्न सक्छ भनेर सरकारले मलाई जिम्मेवारी सुम्पेको होला । मलाई जिम्मेवारी दिनुपर्यो । म नेतृत्वमा जान चाहन्छु भनेर इच्छा जाहेर गरेको थिइनँ । मलाई फोन आयो । नेतृत्वमा बस्नुपर्यो भन्ने आग्रह भएपछि मैले नकार्न सकिनँ । सरकारको आग्रह र मेरो सहमतिपछि मलाई नियुक्त गरिएको हो । 

निगम जर्जर अवस्थामा पुगेको छ । यसलाई सुधार्न निकै गाह्रो छ भन्ने सुनिन्छ । यसलाई उठाउन कतिको मिहिनेत गर्नुपर्ने देख्नुहुन्छ ?

यो संस्थालाई माथि उठाउन धेरै चुनौती छन् । धेरैजसो चुनौती नयाँ होइनन् ।  स्थापनाकालदेखिका कमजोरी र चुनौती हुन् । २८÷३० वर्षसम्म जहाज नै किनिएन । व्यवस्थापन राम्रो भएन । कहिले मन्दी भयो । यस्ता कारणले निगम समस्यामा गएको हो । सबै समस्यालाई एकमुष्ठ हिसाबले सम्बोधन गर्नुपर्ने हुन्छ । मेरो ध्यान त्यता केन्द्रित हुनेछ । त्यसमाथि कोरोनाको कारण अहिले निगममा झन् ठूलो चुनौती र समस्या आइपरेको छ । अब झन् सुझबुझले अघि बढ्नुपर्ने हुन्छ । 
व्यवस्थापनको समस्या समाधान गर्नुपर्छ । हवाइजहाज किन्ने कुरा होला । उपकरण र मर्मतका चुनौती छन् । चुनौती जता हेर्यो त्यतै देखिन्छ । तर यी चुनौती समाधान गर्नै नसकिने खालका छैनन् । कोसिस गरेमा समाधान हुन्छ भन्ने लागेको छ ।

निगम सुधार कार्यदलमा रहेर काम गर्नुभयो । राम्राराम्रा सुझाव दिनुभयो । आफूले कार्यान्वयन गर्न नपर्ने भएपछि पूरा गर्न नसकिने सुझाव दिएको भन्ने आरोप पनि लागेको थियो । आफ्नै सुझाव आफैँलाई भारी पर्ने त होइन ?

(लामो हाँसो) त्यतिखेर पनि मलाई बोलाएर नै तपाईंले वायुसेवा निगम सुधार सुझाव कार्यदलको नेतृत्व गरिदिनुपर्यो भनेको हुनाले मैले नेतृत्व गरेको हो । कार्यदलका सबै साथी  विज्ञ, परिश्रमी र जिम्मेवारी वहन गर्न सक्ने खालको हुनुहुन्थ्यो । सबैको मिहिनेतले हामीले निगमबारे पुरै अध्ययन गरेर सुझाव दिएका थियौँ । हामीले रातदिन नभनी काम गरेर प्रतिवेदन बुझएका थियौँ । 

यसअघि पनि धेरै प्रतिवेदनहरु आएका थिए । ती सबै हेरेका थियौँ । हाम्रो प्रतिवेदनमा धेरै महत्वाकाङ्क्षी योजना छैनन् । कार्यान्वयन गर्न सकिने खालका नै छन् । त्यसैले मैले यसलाई आफ्नै सुझाव भारी हुने ठानेको छैन । बरु केही सहज हुन सक्छ । 

आफैँले दिएको सुझाव कार्यान्वयन गर्न सकिएन भने र ममाथि मात्रै होइन, कार्यदलमाथि नै अविश्वास आउने डर छ । त्यसैले सुझाव कार्यान्वयन हुन्छ । कोरोना महामारीको कारण विश्वभरिकै व्यवसाय अस्तव्यस्त भएको छ । हाम्रो सुझावका केही बुँदा तलमाथि हुन सक्छन् । तर अरु कार्यान्वयन गर्न सकिने खालका नै छन् । 

आफ्नै सुझावअनुसार काम गर्न केही सजिलो हुने भन्नुभयो । निगममा छिटै नै सुधार देख्न पाइन्छ ?

हामीले आशा गर्नैपर्छ । कसैले न कसैले निगम सुधार गर्नुको विकल्प छैन । देशको राष्ट्रिय ध्वजावाहक बिग्रियो भनेर मात्रै हुँदैन । हामी सबैले आफ्नो जिम्मेवारीअनुसारको काम गर्नुपर्छ । संसारभर नै अहिले एयरलाइन्स बिजनेसको अवस्था राम्रो छैन । छिमेकी देश भारतमा पनि सरकारी एयरलाइन्स कम्पनी बिक्री हुँदैछ । हवाई यातायातमा ठूलो चुनौती देखिन्छ । तर सुधार नै गर्न नसकिने होइन । निगमका कर्मचारी र सरकारको सहयोगलगायत सबै जनाको साथ पाइयो र प्रतिबद्धता रह्यो भने सफल भइन्छ । निगमलाई छिटै नै चम्काउने मेरो कोसिस रहन्छ । 

निगमको कार्यकारी अध्यक्षको रुपमा तपाईं बढी जिम्मेवार मन्त्रालयप्रति हुनुहुन्छ कि प्रधानमन्त्री कार्यालयप्रति ?

यसको सम्पर्क मन्त्रालय पर्यटन मन्त्रालय हो । हाम्रा हरेक किसिमका गतिविधिहरु पर्यटन मन्त्रालयतर्फ नै बढी जिम्मेवार हुन्छन् । पर्यटन मन्त्रालयबाट निक्र्योल हुन नसक्ने कुरा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पनि पुग्छन् । समग्रमा म र निगम पर्यटन मन्त्रालयप्रति धेरै जिम्मेवार हुन्छौँ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया