कांग्रेस सांसदको आक्रोश : सरकारले हत्यारालाई कार्बाही नगरेर पीडितलाई दमन गर्‍यो

 साउन १३, २०७५ आइतबार १२:३६:४३ | उज्यालो सहकर्मी

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्त नगरपालिकामा १४ वर्षीया बालिकाको हत्यारा तत्काल पत्ता लगाई कडा कार्बाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु र डिला संग्रौलाले बालिकाको हत्यारालाई पक्राउ गरी कडा कार्बाही गर्न सरकारसँग माग गर्नु भएको हो । सांसद संग्रौलाले ट्यूसन पढन गएकी बालिकालाई सामूहिक बलात्कारपछि हत्या गर्दा पनि सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाउनुभयो । ट्यूसन पढन गएकी बालिकाको उखुबारीमा फालिएको अवस्थामा शव भेटिएको थियो । 

यस्तै बैठकमा कांग्रेसकै प्रमुख सचेतक बालकृष्ण खाँडले तत्काल महंगी नियन्त्रण गर्न सरकारसँग माग गर्नु भयो । उहाँले मलको मूल्य बढेपछि किसान मारमा परेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सरकारी निकाय आफैं मूल्य बढाउन लागि परेको प्रमुख सचेतक खाँडको आरोप छ ।

सांसद तीलबहादुर महत क्षेत्रीले गत साउनको पहिलो हप्ता नारायणी नदीमा आएको बाढीका कारण नवलपुर जिल्लाको विभिन्न स्थानमा जमिन कटान भईरहेको उल्लेख गर्दै तत्काल तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्नु भयो । 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया