६ पटक विदेश जाँदा रित्तै हात, घरकै कामले वर्षमा लाख

 साउन १३, २०७५ आइतबार १३:२८:५४

तारानाथ फुयल 

खोटाङ – विदेश जाने तयारी गर्दै गरेकाहरुलाई लाग्छ, ‘एक पटक विदेश जान पाए त मज्जाले कमाएर ल्याइन्थ्यो ।’ तर भनेजस्तो कहाँ हुन्छ र विदेश ! सोचेजस्तो सबैले कमाउन सक्दैनन् । 

एक पटक होइन, पटक पटक विदेश जाँदा पनि कमाउन नसक्नेहरु पनि थुप्रै भेटिन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ खोटाङको हलेसी तुवाचुङ नगरपालिका – ८ धितुङका गंगा बुढाथोकी । 

उहाँ ६ पटक विदेश जानुभयो, धेरै पैसा कमाउन भनेर । पहिलोपटक २०६३ सालमा मलेसिया जानुभयो । क्यासेटको फर्म बनाउने कामका लागि गएका गंगा ३ वर्ष मलेसिया बस्नुभयो । महिनाको ६ सय रिंगिट तलब पाउने गंगाले ३ वर्षमा जाँदा लिएको ९० हजार ऋण पनि तिर्न सक्नुभएन । ‘३/३ महिनामा ब्याज तिर्नुपर्थ्यो, तर एक पटक पनि तिर्न सकिन’ गंगाले भन्नुभयो । 

मलेसियाबाट खाली हात फर्किएका गंगालाई एक वर्ष घरमा बसेपछि मलेसियाभन्दा अन्तै जाँदा कमाई होला कि भन्ने लाग्यो । त्यसपछि उहाँ कतार पुग्नुभयो राम्रो काम र कमाई खोज्दै । 

कतारमा भवन निर्माणमा काम पाउनुभयो । उहाँलाई पहिलेदेखि नै ग्याष्ट्रिकको समस्या थियो । त्यही भएर होला उहाँलाई काम गर्दा धेरै नै गाह्रो भयो । ‘सास फेर्न पनि धेरै गाह्रो भयो’ गंगा सम्झनुहुन्छ । 

त्यसैले कतार पुगेको ४ महिना नहुँदै उहाँ घर फर्किनुभयो । ‘बस्न पाएको भए कमाइन्थ्यो होला भन्ने लागिरह्यो’ गंगा भन्नुहुन्छ । यही हुटहुटीले उहाँ घर बस्न सक्नुभएन । घर आएर उपचार गरेपछि ठीक भयो । सञ्चो भएपछि उहाँ साउदी अरब जानुभयो । साउदीमा सप्लाई कम्पनीमा परेका गंगाले ३२ महिना काम गर्नुभयो । 

ग्यास प्लान्टमा काम गर्दा उहाँले तीन लाख रुपैयाँ बचाउनुभएको थियो । तर घर फर्किएर बिहे गर्दा त्यो पैसा सकियो । तर त्यसपछि भने उहाँले आम्दानीको बाटो पहिल्याउ सक्नुभएन । २०७२ सालमा कतार पुग्नुभयो । 

कतै काम र कमाई भएन, अनि कतै उहाँलाई ज्यानले साथ दिएन । कतार पुगेको ५ महिनामा गरिएको स्वास्थ्य जाँचमा फेल भएपछि उहाँ घर फर्किनुभयो । विदेश जाँदैपिच्छे ऋण थपिइरहेको थियो ।

तर तिर्न सक्नुभएको थिएन । त्यहाँ जाँदा त हुन्छ कि भन्ने आशै आशमा चारपटक विदेश गइसक्नुभएको थियो । विदेश गएर कमाउन सक्नुभएको थिएन । हिजोसम्मको रहरको विदेश अब भने गंगाका लागि बाध्यता भयो ।

पहिले विदेश जाँदा लागेको ऋण तिर्न दोस्रोपटक साउदी जानुभयो, ग्यास प्लान्टमा काम गर्न । साउदी पुगेको २ महिनामै पुरानै रोग बल्झियो । त्यसैले कमाउन नपाउँदै फर्किनुपर्‍यो ।

छैटौं पटकको वैदेशिक रोजगारीको यात्राले पनि पैसाको साटो ऋण नै थपिएपछि भने गंगाले विदेश जाने सोच त्याग्नुभयो । ‘हुन त के हुन्छ होला र भन्ने लाग्थ्यो, तर विदेश गएर पनि हुने रहेनछ भन्ने लाग्यो’ गंगाले भन्नुभयो । 

कुनै उपाय नलागेपछि उहाँले ६ हजार रुपैयाँको चकलेट, चाउचाउ, बिस्कुटसँगै चटपट पनि बनाएर डोकोमा राखेर बेच्न थाल्नुभयो । हेर्दा र सोच्दा सानो लाग्ने कामबाट दिनहुँ हुने कमाईले उहाँलाई आँट दियो ।  डोकोमा सामान थपिँदै गयो, अनि बिक्रि पनि । 

डोकोको व्यापार बढ्दै गएपछि गंगालाई किराना पसल खोल्ने आँट आयो । उहाँले १० हजार रुपैयाँको लगानी गरेर किराना पसल सुरु गर्नुभयो । ६ पटक विदेश जाँदा कमाउन नसकेका गंगाले अहिले त वर्षमा एकलाख रुपैयाँ यही पसलबाट कमाइरहनुभएको छ । 

‘सुरु गर्दा अनि अहिले पनि हेर्दा सानो देखिन्छ, तर गर्दा हुने रहेछ’ गंगाले फेरिएको सोचसुनाउनुभयो । गंगालाई २ जना छोरालाई पढाउने खर्च पनि यही पसलको आम्दानीले पुगेको छ । अहिले त उहाँको स्वास्थ्यमा देखिरहने समस्या पनि छैन । 

नेपालीमा उखान छ, घुमिफिरी रुम्जाटार । तर उहाँले आफ्नो वैदेशिक रोजगारीको अनुभवबाट त्यो उखानलाई थोरै फेर्नुभएको छ । भन्नुहुन्छ ‘घुमिफिरी हात्ती आहाल ।’

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया