उदयपुरमा काेराेना रिपाेर्ट 'पाेजेटिभ' देखिएपछि गाउँका सबैकाे परीक्षण गरिने

 बैशाख ६, २०७७ शनिबार १७:३७:३४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ को मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरस (काेभिड १९) रिपोर्ट पोजेटिभ देखिएपछि गाउँका सबै मानिसहरुको कोरोना परीक्षण गरिने भएको छ । 

यस गाउँमा रहेका झण्डै ५० घर मुस्लिम समुदायका मानिसहरुको कोरोना परीक्षण गरिने भएको हो । गाउँलेहरुको स्वाब सङ्कलन गर्न प्रदेश सरकारबाट स्वास्थ्यकर्मीको टोली हिँडिसकेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । 

मुस्लिम समुदायका सबैको स्वाब सङ्कलन गरिने र सङ्क्रमितसँग सम्पर्कमा आएका अन्य स्थानीयहरुको समेत स्वाब सङ्कलन गरिने सुवेदीले बताउनुभयो । 

सङ्क्रमित १२ जना र उनीहरुसँगै रहेका चार जना नेपालीलाई शुक्रबार साँझ नै उदयपुरबाट प्रदेश १ मा रहेको कोरोना विशेष अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी दीपकप्रसाद पहाडीले बताउनुभयो । 

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै प्रहरीले अहिले गाउँलाई सुरक्षा घेराभित्र राखेको छ । भुल्के गाउँ प्रवेश र आवत जावतमा रोक लगाइएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा घेराभित्र राखेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया