स्वास्थ्य क्षेत्रकाे जिम्मेवारी निजी क्षेत्रलाई दिनु हुँदैन – सांसद सुवाल

 साउन १३, २०७५ आइतबार १४:०:२९ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले विधेयकमा नर्सिङ, फार्मेसीलगायतका क्षेत्रलाई समेट्नु पर्नेमा जोड दिनुभयो । विधेयकले गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिए पनि स्वास्थ्य क्षेत्रको समग्र सुधारमा चासो नदिएको उहाँको भनाई छ ।

डा. गोविन्द केसीसँग सहमति गरेपछि सरकारले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यो विधेयक पेश गरेका थियो । सांसद अधिकारीले विधेयकमा निजी क्षेत्रले ल्याएको विकृतिलाई अन्त्य गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विधेयकमा भएको व्यवस्था अनुसार कानुन निर्माणमा ढिलाई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार गोविन्द केसीसँग भएको सहमति अनुसार कानुन निर्माण गर्न इमान्दार हुने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसका अर्का सांसद भरतकुमार शाहले विधेयकलाई जस्ताको त्यस्तै पारित गर्नुपर्ने माग गर्नुभयो । उहाँले गोविन्द केसीसँग गरिएको सहमति अनुसार ल्याइएको विधेयकलाई संशोधन गरिरहन नपर्ने पनि अडान राख्नुभयो ।

सांसद शाहले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको नाममा राजनीति गर्ने मनसाय आफूहरुको नरहेको तर्क गर्नुभयो । सरकारको हठका कारण विधेयक ल्याउन ढिलाई भएको सांसद शाहको आरोप छ ।

सांसद सरिता गिरीले विधेयक संविधान र कानुन विपरित रहेको आरोप लगाउनुभयो । स्थानीय, प्रदेश र केन्द्रको स्पष्ट कार्य विभाजनसहितको कानुन निर्माण गरेपछि मात्रै त्यो विधेयक ल्याउनुपर्ने उहाँको तर्क छ ।

सांसद प्रेम सुवालले भने सरकारले ल्याएको राष्ट्रिय चिकित्सा विधेयकप्रति आपत्ति जनाउँदै स्वास्थ्य क्षेत्र निजी क्षेत्रलाई दिनै नहुने तर्क गर्नुभयो । नागरिकलाई पक्षपात गर्ने गरी विधेयक आएकाले त्यसको विरोध गर्नु परेको सांसद सुवालको भनाई छ ।
 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया