एकैदिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर 'सिल'

 बैशाख १०, २०७७ बुधबार ७:५०:५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा आवत जावत बन्द गर्न सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जिल्ला सिल गरेको हो  । 

उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो । 

‘भुल्के यसअघि नै सिल गरिएको थियो, मङ्गलबारबाट उदयपुर नै सिल गरिएको छ,’ पहाडीले भन्नुभयो,  ‘अब उच्च निगरानी गछौँ । अत्यावश्यक काममा जिल्ला आउनुपर्नेलाई उदयपुरको सबै सिमानामा हेल्प डेक्स राखिएको छ र त्यहीँ स्वास्थ्य जाँच गराइ जिल्ला भित्रिन दिइनेछ ।’  

जिल्ला सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लाभित्र आउने र जिल्लाबाहिर जाने मानिसहरुलाई उच्च सर्तकताका साथ आवत जावत गर्न दिने प्रहरी प्रमुख, एसपी वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

मङ्गलबार भुल्केमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । । यसअघि त्यही ठाउँको एउटा भवनमा रहेका १६ मध्ये १३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया