उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग: आइतबार एपीएफ र अार्मी विजयी

 साउन १३, २०७५ आइतबार १८:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग प्रतियोगितामा सशस्त्र प्रहरी बलले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सशस्त्र प्रहरी बलले उपाधि जित्ने सम्भावना बलियो बनाएको हो । 
आइतबारै भएको खेलमा आर्मीले रौतहटलाई ३–१ ले हराएको थियो ।

यो जितसँगै आर्मी र एपीएफ दुवैको ९–९ अंक भएको छ । तर गोल अन्तरका आधारमा एपीएफ आर्मीभन्दा ८ गोलले अघि छ ।

अन्तिम खेलमा आर्मीलाई जित आवश्यक छ भने एपीएफलाई बराबरी पर्याप्त हुनेछ । 

एपीएफले पुलिसलाई हराउने क्रममा अनिता केसी र सरु लिम्बुले १–१ गोल गरे ।

अनिताले खेलको २३औं मिनेटमा गोल गर्दा सरुले ४७ औं मिनेटमा अग्रता दोब्बर बनाइन् ।

आइतबारको पहिलो खेलमा आर्मीले रौतहटलाई ३–१ ले पराजित गर्‍यो । आर्मीको जितमा शर्मिला थापाले नवौं र १२औं मिनेटमा गरी दुई गोल गरिन् । 

६५औं मिनेटमा दिपा राईले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाइन् ।

रश्मी कुमारी घिसिङले ६८औं मिनेटमा एक गोल गरेपछि रौतहटले थप गोल गर्न नसक्दा आर्मीले तीन अंक जोड्दै उपाधिको आशा जिवित राखेको हो ।

६ अंक सहित रौतहट लिगमा तेस्रो भएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया