विभिन्न कार्यक्रम गरी ८ औं अन्तराष्ट्रिय बाघ दिवस मनाइयाे

 साउन १३, २०७५ आइतबार १८:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - ८ औं अन्तराष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

यसै अवसरमा चितवनका संरक्षणकर्मीहरुले बाघ संरक्षणका लागि चितवनको टिकौली जैविक मार्गमा सवारी सावधानी अपनाउन अपिल गर्दै स्टिकर एवम् पम्प्लेट वितरण गरेका छन् ।

बाघ संरक्षण उपसमिति सौराहाको आह्वानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै संरक्षणकर्मीहरुले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० पुर्‍याउने सरकारको लक्ष्य पुरा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बाघको संरक्षण गर्नुपर्ने आवश्यकता चित्रण गरिएको प्ले कार्डपनि प्रर्दशन गरिएको थियो ।

चितवनमा यस वर्ष मात्रै ६ वटा बाघ कालगतिमा मरेको उल्लेख गर्दै बाघको बासस्थान बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ ।

बाघको संख्या बढाउन आवश्यक बास स्थान र उचित आहारा व्यवस्थापनको काममा आफूहरु लागि परेको चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख एवम् सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनु भयो ।

नेपालमा हाल १ सय ९८ वटा बाघ रहेको सरकारी तथ्यांक छ । जसमध्ये १ सय २० वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ ।

यो निकुञ्जलाई बाघको सबैभन्दा उपयुक्त बासस्थानको रुपमा लिने गरिन्छ । विश्वमा करिव साढे ३ हजारको हाराहारीमा बाघ रहेको दावी गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया