यो वर्ष रमजान मस्जिदमा होइन, घरमै बसेर मनाऔँ

 बैशाख १२, २०७७ शुक्रबार १४:३९:५५ | समिम मियाँ अन्सारी
unn.prixa.net

काठमाण्डौ - शनिबारदेखि इस्लाम धर्मावलम्बीहरुको महान चाड रमजान सुरु हुँदैछ । यो चाड मनाउन यो वर्ष हामी मस्जिद जाने छैनौँ । आआफ्नो घरमै नमाज पढेर मनाउने छौँ । हामीले यो कुरा पहिले पनि मुस्लिम समुदायलाई जानकारी गराइसकेका छौँ । देशभर रहेका मौलाना मुफिस्तहरुलाई पनि हामीले यो विषयमा पहिले नै जानकारी गराइसकेकाले यो वर्षको रमजान घरबाटै मनाइने छ । 

हुन त यो चाड मस्जिदमा गएर समूहमा मनाइने गरिन्छ । तर, कोरोना भाइरसको महामारीको कारण अहिले विश्वभरि मानव समुदाय त्रासमा छ । यसबाट हामी पनि त्रसित छौँ । आफ्नो ज्यानको सुरक्षाको लागि मुस्लिम आयोगले यो वर्षको चाड घरबाट मनाउने निर्णय गरेको छ । 

घरमै बसेर रमजान

यस्तो अवस्थामा सम्पूर्ण मुस्लिम दाजुभाइ र दिदीबहिनीलाई आआफ्नो घरबाटै यो वर्षको रमजान मनाउन अनुरोध गर्दछु । घरमै नमाज पढ्नुहोस । घरमै रमाइलो गर्नुहोस । मस्जिदमै गएर नमाज पढ्दा पुण्य कमाइन्छ भन्ने होइन । घरमै बसेर आफ्नो मनैदेखि रमजान मनाउनुहोस् । यसैमा राम्रो हुन्छ । 

मस्जिदमा हरेक शुक्रबार नमाज पढ्ने गरिन्छ । रमजान पर्व सुरु हुनुभन्दा पहिलेको रात मुस्लिम समुदायको लागि विशेष हो । त्यो राति पढिने नमाजलाई तारवीनमाज भनिन्छ । यो सामूहिक रुपमा मनाउने भन्ने चलन छ । यो वर्ष मस्जिदमा धर्मगुरु र कमर्चारी गरी पाँच जनाले मात्रै नमाज पढेर रमजान मनाउने छन् । 

मुस्लिममाथि आरोप

अहिले विश्व महामारीमा छ । विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । नेपालमा कतिपय मानिस निको भएर घर फर्किसकेका छन् भने कतिपय अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् । 

यसबीचमा सामाजिक सञ्जालमा धेरै कुराहरु आए । केही व्यक्तिले  मुस्लिम समुदायले कोरोना सङ्क्रमण फैलाइरहेको आरोप पनि लगाए र लगाइरहेकै छन् । मुस्लिमहरुले मस्जिद र मदरसामा जमातीहरुलाई लुकाएर राखेको र उनीहरुबाट कोरोना फैलिएको भन्ने जुन कुरा सामाजिक सञ्जालमा आइरहेको छ र केही व्यक्तिहरुले भनिरहेका छन् । त्यसको हामीले अनुगमन गरिरहेका छौँ । 

देशभर अनुगमन

हामीले देशभरका मस्जिद र मदरसामा अनुगमन गरिरहेका छौँ । गएको मङ्गलबार काठमाण्डौमा रहेका मस्जिदहरुको हामीले अनुगमन गरेका छौँ । अन्य जिल्लामा अनुगमनका लागि जिल्ला समितिहरु गठन गरेर बिहीबारदेखि अनुगमन सुरु गरिसकिएको छ । अनुगमन समितिले शनिबारदेखि सुरु हुने रमजान पर्वको पनि अनुगमन गर्ने छ । 

अनुगमनको लागि काठमाण्डौ उपत्यकामा एउटा समिति र मेरो अध्यक्षतामा ७ जनाको केन्द्रीय समिति पनि गठन गरेका छौँ । हरेक जिल्लामा गठित समितिले जिल्ला प्रशासन कार्यलयका प्रमुख र पालिकाहरुसँग समन्वय गरेर अनुगमन गर्ने छ ।

अनुगमन समितिमा चिकित्सकहरु पनि हुने छन्, जसले मदरसा र मस्जिदमा भएकाहरुको चेक जाँच गर्ने छन् । हामीले  मस्जिद र मदरसामा धर्मगुरु र कर्मचारी गरी पाँचजनालाई मात्र बस्न यसअघि नै निर्देशन दिइसकेका छौँ । मस्जिदमा धेरै व्यक्ति रहेको पाइए अनुगमन टोलीमा प्रहरी, प्रशासन र चिकित्सक सँगै रहने भएकाले उहाँहरुले मिलाउनुहुने छ ।

हामीसँग अहिले देशभर तीन हजारभन्दा बढी मस्जिद र त्यतिकै सङ्ख्यामा मदरसाहरु छन् भन्ने तथ्याङ्क छ । तर, त्यसमा गुरु कति छन्, कर्मचारी कति छन् भन्ने यकिन छैन । यो विवरण अबको अनुगमनबाट राख्ने छौँ ।

लकडाउनको पालना

सरकारले जनता बचाउनको लागि नै लकडाउन घोषणा गरेको छ । यो बन्दाबन्दीको सबैले पूर्ण रुपमा पालना गर्नुपर्छ । यो समुदाय, त्यो समुदाय भन्नुभन्दा सबैले जथाभाबी बाहिर नगई भिडभाड नगरी घरमै बस्यो भने हामी सुरक्षित रहन्छौँ ।  

कोरोना भाइरस कुनै जाति, धर्म, लिङ्ग र वर्णलाई लक्षित गरी आएको छैन । यो बेला एकले अर्कोलाई आरोप, प्रत्यारोप लगाउनुभन्दा आफू कसरी बच्ने र सिङ्गो देशबासीलाई कसरी बचाउने भन्नेतिर लाग्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

समिम मियाँ अन्सारी

अन्सारी मुस्लिम आयोगको अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया