अब नयाँ बानेश्वर र कोटेश्वरमा पनि अण्डरपास

 साउन १४, २०७५ सोमबार १०:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको नयाँ बानेश्वर र कोटेश्वर चोकमा पनि अण्डरपास बन्ने भएको छ । कलंकीको अण्डरपास बनाउने काम सकिन लाग्दा अरु दुई ठाउँमा पनि बनाउने प्रक्रिया अघि बढेको हो ।

कलंकीको अण्डरपासको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको छ । चीनको सहयोगमा बनेको यो अण्डरपास निर्माण सम्पन्न भएसँगै नयाँ बानेश्वरमा डेढ किलोमिटर र कोटेश्वरमा पनि त्यति नै लामो दूरीको अण्डरपास बनाउने योजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो । 

महाराजगञ्जमा नेपाल सरकारले निर्माण गर्ने भनिएको पाँचसय मिटरको अण्डरपास चीन सरकारले नै बनाउने भएपछि त्यसको सट्टा त्यही डिजाइनमा बानेश्वरमा अण्डरपास निर्माण गर्न लागिएको हो ।

पुल महाशाखा प्रमुख थापाले बताउनुभयो, ‘कलंकीको अण्डरपासले कोटेश्वर र बानेश्वरको जामलाई हटाउन सक्दैन । र त्यो जामलाई कम गर्न अन्य कुनै विकल्प नभएकोले अण्डरपास बनाउने योजना बनेको हो ।’

अहिले परामर्श विज्ञहरुको सहयोगमा डिजाइनको प्रक्रिया अगाडि बढिरहेका र डिजाइन प्रक्रिया सकिएपछि सार्वजनिक प्रस्ताव मागेर निर्माण कार्य अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।

कलंकीको अण्डरपास बनाउन एक अर्व रुपैयाँ लागेको र नयाँ बन्ने अण्डरपासमा पनि त्यती नै लगानी लाग्ने थापाले जानकारी दिनुभयो ।

काठमाडौंको रिङरोडका विभिन्न स्थानमा बढेका सवारी चापलाई कम गर्ने विकल्पका रुपमा अण्डरपासलाई अगाडि सारिएको हो । चीनको सहयोगमा बन्ने कलंकी र महाराजगञ्जको अण्डरपास र नेपाल सरकारले निर्माण गर्ने बानेश्वर र कोटेश्वरको अण्डरपास गरेर काठमाडौमा अब चारओटा अण्डरपास हुने भएका छन् । 
 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया