राेल्पा : बम विस्फाेट भएकाे ठाउँमा सुरक्षा सतर्कता बढाइयाे

 बैशाख १९, २०७७ शुक्रबार ९:२१:३९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – त्रिवेणी गाउँपालिका ७ दुम्ला खोलामा बिहीबार साँझ भएको बम विष्फोटमा चार जना बालबालिकाको ज्यान गएपछि त्याे ठाउँलाई अहिले सिल गरिएको छ ।

एउटा बम विष्फोट भएको र अर्काे एउटा विष्फोट नभएकाले त्याे ठाउँमा अहिले इलाका प्रहरी कार्यालय होलेरी र सशस्त्र प्रहरीको तिला ब्यारेकबाट खटिएको सुरक्षाकर्मीको टोलीले सुरक्षा दिइरहेको त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।

बिहीबार साँझ ६ बजेतिर विष्फोट भएको घटनास्थलमा दहबनमा रहेकाे सेनाको टोलीले निरीक्षण गरी बम डिस्पोजका लागि अहिले दाङबाट डिस्पोजल टोली बोलाएको छ । सशस्त्र द्वन्द्वको बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र सेनाबीच दोहोरो सङ्घर्ष भएको थियो । त्याे बम अहिले पनि खिया नलागेकाले सुरक्षित राखेको र अझै हुन सक्ने आशङ्का गरिएको छ ।

बालबालिकाहरुले जङ्गलमा बम भेट्टाएर घर आउने बाटाेमा खेलाउँदा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । दुई जनाको शव बाटो छेउमा भेटिएकाे थियाे भने दुई जनाकाे खेतभन्दा तल भेटिएकाे थियाे । घटनाबारे थप बुझ्न घटनास्थलमा गाउँपालिकाका सबै पदाधिकारीहरु पुगेका छन् भने आज प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी पनि आउने बताइएको छ ।

विस्फाेटमा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ७ का लालबहादुर केसीका ११ वर्षिया छोरी विमला केसी र पाँच वर्षीय छाेरा विजय केसी छन् । यस्तै ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपाली रहेका छन् ।  

अन्तिम अपडेट: चैत ३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया