जोशी प्रधानन्यायाधीश बन्ने नबन्नेबारे निर्णय आज हुँदै

 साउन १४, २०७५ सोमबार ११:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक आजका लागि बोलाइएको छ ।

गएको विहीबार नै सुनुवाइ सकिए पनि समितिले निर्णय गर्न सकेको छैन । सुनुवाई सकिएपछि २ पटक स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो । आजको बैठकले जोशीको नामबारे निर्णय गर्ने समितिका सदस्यहरुले दावी गरेका छन् ।

नाम अनुमोदन गर्न समितिका २ तिहाइ सदस्यको समर्थन आवश्यक पर्छ भने २ तिहाइ सदस्यले चाहेमा नाम अस्वीकार पनि गर्न सक्छन् । १५ सदस्यीय समितिमा नेकपाका ९ र संघीय समाजवादी फोरमका १ गरि २ तिहाइ सदस्य सत्तारुढ दलसँग छन् । तर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने स्पष्ट निर्देशन नदिइसकेकाले समितिका सदस्यहरु पनि अलमलमा परेका छन् । 

जोशीको एसएलसीको प्रमाणपत्र र उहाँ सम्मिलित केही फैसलाहरु विवादित भएकाले पनि समितिले यसबारे निर्णय गर्न सकेको छैन । तर, सुनुवाई सकिएको चार दिन वित्दा पनि निर्णय नहुँदा आशंका बढ्दै गएको भन्दै निर्णय गर्न समितिलाई दबाब बढ्दै गएको छ । संसदीय सुनुवाई नहुँदा लामो समय प्रधानन्यायाधीस नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको थिएन । 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया