आईसीसीसँग पारस खड्काको एक्सक्लुसिभ अन्तर्वार्ता : मैले कहिल्यै पनि देशका लागि खेल्छु भनेर कल्पना गरेको थिइनँ

 साउन १४, २०७५ सोमबार १४:४२:५ | उज्यालो सहकर्मी

नेपाली क्रिकेटलाई एकदिवसीय मान्यताको ऐतिहासिक सफलता दिलाउने मुख्य सारथी हुन्, कप्तान पारस खड्का । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले कप्तान पारस खड्कासँग गरेको एक्सक्लुसिभ अन्तवार्ता गरेको थियो । त्यसको नेपाली अनुवाद यहाँ प्रस्तुत छ ।

एकदिवसीय यात्रा लामो समयको परिश्रम र प्रतीक्षापछि हासिल गरेको सफलता हो । तर, नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी हो ।

हामीमा यो सफलता हात पार्ने तीव्र इच्छा थियो । तर त्यसमा चुनौती पनि त्यतिकै थिए । त्यही चुनौतीका कारण हामी अघि बढ्दै गयौं । आठ वर्षअघि आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्दै थियौँ । तर अहिले हामी विश्वका उत्कृष्ट १६ राष्ट्रको माझमा आइपुगेका छौँ र यो उपलब्धि आउँदो चार वर्षका लागि सुरक्षित छ ।

यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य छ । ओडीआई स्टाटसका लागि हामीले ठूलो परिश्रम गर्यौं । नेदरल्याण्ड्सविरुद्धको खेलमा हाम्रो क्षमता देखाउने मौका पाउँदैछौँ । साथसाथै पहिलो अनुभवमा रमाउन र राम्रो प्रदर्शन गर्नका लागि प्रयास गर्नेछौं ।

कति टाढा पुगेछौँ भनेर पछाडि फर्केर हेर्दा ठूलो सन्तोष लाग्छ । व्यक्तिगत रुपमा भन्दा, मैले काठमाडौंमा विद्यालय स्तरबाटै खेल्न सुरु गरेको हुँ । वर्षाको समयमा फुटबल र बाँकी समयमा क्रिकेट खेलेँ ।

मैले कहिल्यै पनि देशका लागि खेल्छु भनेर कल्पना गरेको थिइनँ । तर भाग्यले मेरा लागि अर्कै कुरा लेखेको रहेछ । जब म यू–१५ का लागि छनोट भएँ, त्यसपछि क्रिकेटका बारेमा सोच्न थालेँ ।

आईसीसी यू–१९ विश्वकपमा दक्षिण अफ्रिकालाई दुई पटक, न्यूजिल्याण्ड र जिम्बाब्वेलाई एक–एक पटक हरायौँ, त्यस क्रममा विश्वका उत्कृष्ट खेलाडीको विपक्षमा रहेर पनि खेल्यौँ । सन् २०१३ को नोभेम्बर २७ मा हङ्कङ्लाई अन्तिम बलमा हराएर सन् २०१४ को टी–२० विश्वकपमा छनोट भएको क्षण जीवनकै सबभन्दा सुखद समय थियो ।

लामो समयदेखिको सपनाको प्राप्ति एक कदम अघि देख्दा निकै आत्तिएको थिएँ । क्रिकेट करियरको सबैभन्दा ठूलो कोषेढुङ्गा साढे तीन घण्टा पर थियो । हाम्रा लागि त्यो निकै महत्वपूर्ण थियो । हङकङ, बंगलादेश र अफ्गानिस्तानसँगको तीन खेलमा हामीले उत्कृष्ट प्रदर्शन गर्यौँ ।

त्यसपछि यो वर्ष नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा राम्रो खेलेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन पाउँदाको क्षण अर्को विशेष समय थियो । यो बिन्दुमा आउनका लागि कडा परिश्रम गरेका मेरा पुस्ताका खेलाडीका लागि महत्वपूर्ण पल हो ।

हामीमा टिमको भावना बलियो छ, जुन हाम्रा लागि सकारात्मक पक्ष हो । हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि संघर्ष गर्दै आएका छौँ । टिमका सबै सदस्य इमान्दार र मेहनती छौँ । क्रिकेट प्रेमीको कुरामा पनि हामी भाग्यमानी छौँ । जहाँ खेले पनि उनीहरुले हाम्रो खेल नजिकबाट नियालिरहेका छन् । विदेशमा बस्ने नेपालीले पनि जता गए पनि साथ दिइरहेका छन् र राम्रो खेल्ने उर्जा प्रदान गरिरहेका छन् । यस अर्थमा हामी धेरै भाग्यमानी छौं ।

सन् २०१६ मा पहिलो पटक लड्र्समा खेल्दा यो कुरा अनुभव गरेको थिए । खेलको भोलिपल्ट बिहान आफैंसँग प्रश्न गरेँ, ‘साँच्चै हामीले लड्र्समा खेल्यौँ ?’ त्यहाँ हामीले राम्रो अनुभव लियौँ । आज हामीले त्यही लड्र्समा एमसीसी र नेदरल्याण्डसँग त्रिकोणात्मक श्रृङ्खला पनि खेल्यौँ ।

हामीले सन् २०२३ मा हुने आईसीसी विश्वकप छनोट खेल्न पाउने भएका छौँ । यो हाम्रा लागि अद्भूत अवसर हो । नेपाल सरकारले पनि हाम्रो स्तरोन्नतिमा विशेष ध्यान दिइरहेको छ र आशा गरौँ केही समयमा नै क्रिकेट बोर्ड पनि पाउनेछौं । यी स्रोत साधनहरु हामीले एकैपट पाउन सक्यौँ भने नेपाली क्रिकेटमा हाम्रा लागि सुखद दिनहरु आउनेछ ।

१५ वर्षदेखि म लगातार क्रिकेट खेल्दैछु, यति लामो समय खेल्छु भन्ने कल्पना पनि गरेको थिइन । तर एउटा समय आउनेछ, जुन बेला अब पुग्यो झैँ लाग्नेछ । त्यो समय ६ महिनापछि पनि हुन सक्छ वा ६ वर्षपछि पनि हुन सक्छ । तर, सम्भव भएजति योगदान दिनेछु र आफ्नो प्रदर्शनमा सुधार ल्याउनका लागि प्रयास जारी राख्नेछु ।

एउटा कप्तानको हैसियतमा भन्दा हाम्रा लागि यो रोमाञ्चक यात्रा रह्यो र यसले निरन्तरता पाओस भन्ने आशा गर्दछु । प्रदर्शन जारी राख्न र टिमको वृत्तिविकासमा सहयोग गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया