संखुवासभामा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या दश पुग्यो

 बैशाख २२, २०७७ सोमबार २१:१४:३७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिका-२ गोठगाउँमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या थपिएर १० जना पुगेको छ ।

जंगलबाट  टिपेर ल्याएको च्याउ खाँदा  तीन घर परिवारका १० जना बिरामी परेका हुन् । 

शनिबार बेलुकी च्याउको तरकारी खाएपछि २७ वर्षीय सन्देश राई, उहाँकी श्रीमती २४ वर्षीय मनिला राई, छोरी ३ वर्षीय सुपी राई बिरामी परेका हुन् । 

उनीहरुका छिमेकी २४ वर्षीय अनिता राई, २१ वर्षीय दिनेश राई र ३ वर्षीय छोरी आकांक्षा राई गरी ६ जना बिरामी परेपछि आइतबार दिउँसो जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको थियो । यस्तै, राईका अर्का छिमेकी ३० वर्षीय कल्पना रिजाल र उनको छोरीहरु ६ वर्षीय फुलकुमारी, ११ वर्षीय सुस्मिता र १३ वर्षीय बालकुमारी आइतबार राती बिरामी परेका हुन् ।

 उनीहरुलाई पनि सोमबार बिहान जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । अहिले उनीहरु १० जनाको नै अवस्था सामान्य रहेको जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिण्टेण्डेण्ट डा. सुन्दर श्याम झाले बताउनुभयो । 

उहाँले जंगली च्याउ खाएर बिरामी परेकाहरुको उपचार भइरहेकाले डराउनु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 

गएको शनिबार सन्देश र मनिलाले जंगलबाट च्याउ टिपेर ल्याएपछि २ घर छिमेकीहरु अनिता राई र कल्पना रिजाललाई बाँडेर दिएका थिए । 

अन्तिम अपडेट: चैत २५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया