बुवा—आमाको सम्झनामा भ्यू-टावर निर्माण

भ्यू टावरबाट हुने आम्दानी निम्न आर्थिकस्तर भएका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिने

 साउन १४, २०७५ सोमबार १६:७:५४ | हेमराज शर्मा

दाङ – दाङको घोराही उप–महानगरपालिका वडा नम्बर १८ स्थित नम छु गुम्वामा व्यक्तिगत लगानीमा भ्यू–टावर निर्माण गरिएको छ ।

पुन परिवारको व्यक्तिगत लगानीमा भ्यू–टावर निर्माण गरिएको हो । यो भ्यू–टावर दाङमा पहिलो भ्यू–टावर भएको छ । पुन परिवारले निर्माण गरिदिएको भ्यू–टावर १७ मिटर अग्लो र साढे ५ तलाको रहेको छ ।

भ्यू–टावर मनबहादुर पुन, श्रीमती दिमाया पुन र छोराहरु गुमानबहादुर पुन, नरेन्द्र पुन र डाक्टर वसन्त पुनले निर्माण गर्नु भएको हो  । अहिले निर्माण गरिएको भ्यू–टावरका लागि ४० लाख खर्च भएको नरेन्द्र पुनले जानकारी दिनुभयो ।

‘सानो भए पनि सामाजिक कार्य गर्ने उदेश्यले भ्यू–टावर निर्माण गरेका हौं’, पुनले भन्नुभयो । परिवारहरुको सल्लाहामा नै यस प्रकारको कार्य गरिएको उहाँको भनाई छ । यसरी निर्माण गरिएकोे भ्यू–टावरको नाम ‘आमाबुबा’ राखिएको छ ।

‘बुवाआमाले हामीलाई जन्म दिनुभयो । शिक्षा दिएर आत्मनिर्भर बनाउनु भयो । त्यसैले उहाँहरुको नाममा सानो भए पनि केही काम गर्नु पर्दछ भनेर हामी भाइहरु मिलेर भ्यू–टावर निर्माण गरेका हौं’, पुनले भन्नुभयो ।

वुद्धजयन्तीको अवसरमा सुरुआत गर्ने गरी काम सुरु भए पनि प्राविधिक समस्याले गर्दा केही निर्माण कार्य ढिला सम्पन्न भएको पुनको भनाई छ । भ्यू–टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको उहाँको भनाई छ ।

त्यो भ्यू–टावर वुटवलमा निर्माण गरेर दाङ ल्याइएको थियो । त्यो टावर वुटवलमा सिटी भिजन इञ्जिनियरीङ कम्पनी प्रालिले निर्माण गरेको हो । कम्पनीसँग पुन परिवारले निर्माण गरी सकेपछि जिल्लासम्म ल्याएर जोडिदिने गरी सम्झौता गरेको थियो ।

अहिले निर्माण गरेर स्थापना गरिएको भ्यू–टावर फलामको हो । भ्यू–टावरमा दूरबिन समेत राखिने छ । यसले गर्दा जिल्लाको रमणिय स्थलको अवलोलकन गर्न सकिने भएको छ । रमणिय स्थानको अवलोकन गर्न पाइने भएका कारण पनि पर्यटकको आकर्षण बढ्ने बताइएको छ ।

अहिले पनि भ्यू–टावर अवलोकन गर्न जानेहरुको सङख्या दैनिक बढ्दै गएको गुम्बा समितिले जनाएको छ । भ्यू–टावरबाट भएको आम्दानी पुन परिवारले नलिने नरेन्द्रले बताउनुभयो । समाज सेवा गर्न स्थापना गरेकाले आम्दानी आफूहरुले नलिने उहाँको भनाई रहेको छ ।

भ्यू–टावरबाट हुने आम्दानी निम्न आर्थिकस्तर भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न छावृत्ति प्रदान गरिने पुनले बताउनुभयो  । भ्यू–टावर निर्माण भएपछि गुम्बामा आउने पर्यटकहरुको समेत वृद्धि हुने नरेन्द्रले बताउनुभयो  । पर्यटन बढेसँगै यस क्षेत्रको व्यापार व्यवसाय समेत वृद्धि हुने अपेक्षा लिइएको छ । भ्यू–टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताउनुभयो ।

‘भ्यू–टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्न सकिने छ’, अध्यक्ष रोकाले भन्नुभयो । भ्यू–टावरमा चड्नको लागि केही रकम लिएपछि मन्दिरलाई समेत आर्थिक रुपमा सहयोग मिल्ने अपेक्षा व्यवस्थापन समितिको रहेको छ । भ्यू–टावर निर्माण भएसँगै नमछु गुम्बा पर्यटकीय रुपमा विकासमा थप टेवा पुग्ने गुम्बा व्यवस्थापन समितिको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया