जोशीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने नगर्ने बारेमा नेकपाभित्रै अलमल, आज पनि निर्णय हुन सकेन

 साउन १४, २०७५ सोमबार १६:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाइ समितिले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधान्यायाधीशका लागि सिफारिस गर्ने नगर्ने बारेमा आज पनि निर्णय गर्न सकेन । 

जोशीको सिफारिस बारेमा निर्णय गर्न भनेर आजका लागि बोलाइएको समितिको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सुनुवाई सकेर निर्णय प्रक्रियामा रहेको समितिले निर्णय सुनाउनकै लागि बोलाएको बैठक शुक्रबार र आइतबार र आज सोमबार गरी ३ पल्ट स्थगित भइसकेको छ । 

कायम मुकायम प्रधानन्यायाधीश जोशीको शैक्षिक योग्यताका बारेमा सञ्चारमाध्यममा लगातार खबर आइरहेका कारण जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने नगर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नै अलमलमा परेका छन् । 

सुनुवाइ समितिका १५ मध्ये कम्तिमा १० जना सांसदको सहमति भएमा जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि राष्टपतिसमक्ष सिफारिस गर्न सकिन्छ । १५ सदस्यीय समितिमा नेकपाका ९ र संघीय समाजवादी फोरमका १ गरी सत्तारुढ दलका नै १० जना सांसद छन् । कांग्रेसका ४ र राजपाका १ जना सांसद संसदीय सुनुवाइ विशेष समितिमा सदस्य छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया