किन फुट्दै थियो समाजवादी पार्टी ?

 बैशाख २३, २०७७ मंगलबार १८:४३:४६ | तुलानारायण साह
unn.prixa.net

काठमाण्डौ - दल विभाजनलाई सजिलो हुने गरी सरकारले ल्याएको अध्यादेश फिर्ता भइसकेको छ । त्यस अध्यादेशबारे अनेकौं विश्लेषण भइसकेका छन् । एउटा सत्य के हो भने समाजवादी पार्टी फुटबाट जोगियो । त्यही अध्यादेशको कारण राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच रातारात एकीकरण गर्ने सहमति भयो । जनता समाजवादी पार्टी बन्ने प्रक्रियामा छ । तर, समाजवादी पार्टीको असफल विभाजनसँग जोडिएका कतिपय प्रश्नहरु जस्ताको तस्तै छन् । 

समाजवादी पार्टी किन फुट्दै थियो ?

समाजवादी पार्टीको असफल विभाजनमा तीन वटा पक्षहरु थिए । पहिलो, प्रधानमन्त्रीको अग्रसरता । दोस्रो, समाजवादीका केही सांसदहरुमा असन्तुष्टि । र तेस्रो, उपेन्द्र यादवको नेतृत्व शैली । 

१) प्रधानमन्त्रीले सानो पार्टीको विभाजनको लागि किन अध्यादेश ल्याउनु परेको थियो ?

मनोवैज्ञानिक रुपमा प्रधानमन्त्रीमा बदलाको भाव र असहिष्णुता ज्यादा देखियो । समाजवादी पार्टीप्रति जति उहाँ क्रोेधित देखिनुभयो राजपाप्रति त्यति देखिनुभएन । मलाई लाग्छ, यसको खास कारण थियो ।

झण्डै दुई वर्षअघि तत्कालीन सङ्घीय समाजवादी फोरम ओली सरकारमा सहभागी भएको थियो । खासमा फोरमलाई सरकारमा जानु आवश्यकता नै थिएन ।सङ्ख्याको हिसाबले सरकारलाई पनि फोरमको समर्थन जरुरी थिएन । उपेन्द्र यादव आफ्नै प्रयासमा प्रचण्डलाई रिझाएर मन्त्री बन्नका लागि सरकारमा जानुभएको थियो । उपेन्द्र यादवको यो कमजोरी प्रधानमन्त्रीले नबुझ्ने कुरै थिएन । तर सरकारमा उपेन्द्र यादवले आफूलाई बलियो, बुद्धिमानी र क्रान्तिकारी नेताकै रुपमा मात्र प्रस्तुत गरिरहनुभयो । सुरुमा सरकार र प्रधानमन्त्री ओलीको विरोधमा त्यति धेरै मुखर हुनुभएको थिएन ।

तर, नयाँ शक्ति पार्टीसँगको एकीकरणपछि डा. बाबुराम भट्टराई र यादव दुबैले सरकार र प्रधानमन्त्रीविरुद्ध खरो रुपमा बोल्न थाल्नुभयो । सत्ताधारी पार्टी पनि बनिरहने, मन्त्रीको सुविधा पनि उपभोग गरिरहने र सरकारको विरोध पनि गर्नुपर्ने उपेन्द्रजीको जुन रणनीति थियो त्यसको कारण प्रधानमन्त्रीलाई क्रोेधित बनाएको हुनुपर्छ । त्यसैले राजपाभन्दा समाजवादी पार्टीको विभाजनमा प्रधानमन्त्रीको अग्रसरता देखिएको हुनुपर्छ ।

२) विभाजन प्रयासमा समाजवादी पार्टीका सांसदहरुको असन्तुष्टि अर्को पक्ष थियो ।

मैले थाहा पाएअनुसार आवश्यक छ जना सांसदहरु दुई छुट्टाछुट्टै समूहमा सक्रिय थिए । एउटा समुहमा रेणु यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादव हुनुहुन्थ्यो भने अर्को समूहमा उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव र डा. सुरेन्द्र यादव थिए । थप सांसदहरुको जोहो बालुवाटार पक्षले आफैँ गर्ने कुरा थियो । अब अहिले आएर त्यो खेलको ‘च्याप्टर’ नै बन्द भइसकेपछि अनेक नौटङ्की भइरहेको छ । यो समाजवादी पार्टीभित्रको आन्तरिक आयाम हो । 

रेणु यादव, इस्तियाक राई र प्रदीप यादवहरुले पार्टी विभाजनमा लाग्नुपछाडिका आआफ्नै कारण छन् । रेणु यादवको जुन पारिवारिक र राजनीतिक पृष्ठभूमि छ, त्यसमा सत्ताबाहेकको राजनीतिको कुनै अर्थ हुँदैन । पछिल्लो समय जब उहाँले पार्टीको प्रदेश इकाइको निर्वाचनमा पराजय भोग्नुपर्यो, त्यसपछि पार्टीभित्र आफनो भविष्य असुरक्षित रहेको निष्कर्षमा रेणु यादव पुगेको हुनुपर्छ । 

पार्टी विभाजनको लागि सक्रिय हुनुको पछाडि मोहम्मद इस्तियाक राईको आफनै कारण हुनुपर्छ । प्रदेश नम्बर ५ अर्थात् गण्डकपश्चिमको मधेशबाट फोरम पार्टीबाट इस्तियाक राईले मात्र चुनाब जित्नुभएको छ । आन्दोलनको रापताप र मुस्लिम भोट बैंकको बलमा उहाँ चुनाब जित्दै आउनुभएको हो । पछिल्लो निर्वाचनबाट यो प्रस्ट भयो कि मधेशवादी दलहरुको आधारभूमि प्रदेश नम्बर २ मात्र हो । भविष्यको निर्वाचनमा पनि प्रदेश ५ मा मधेशवादी दलहरु कमजोर रहने आकलन इस्तियाकको हुनुपर्छ । 

संविधानसभाका दुई निर्वाचनमा अभिषेकप्रताप शाहले फोरमको टिकटबाट कपिलवस्तुबाट चुनाब जित्नुभयो । तर जब अभिषेकलाई लाग्यो कि अब मधेशवादी दलबाट चुनाब जित्न सकिँदैन, नेपाली काङ्ग्रेस प्रवेश गर्नुभयो र पछिल्लो निर्वाचन फेरि जित्नुभयो । हृदयेश त्रिपाठीले पनि त्यस्तै गर्नुभयो । नवलपरासीमा उहाँको निर्वाचन क्षेत्र यसरी निर्धारण गरियो कि उहाँले आफू राजपाबाट जित्न नसक्ने निष्कर्ष निकाल्दै एमालेसँग तालमेलमा जानुभयो ।

यस्तै भविष्यमा आफ्नो राजनीति सुरक्षित गर्न इस्तियाकलाई मधेशवादी पार्टीमाथि त्यति भर नलागेको हुनसक्छ । सुनिएअनुसार पछिल्लो पटक इस्तियाक मन्त्रिमण्डलबाट निस्किन चाहनुभएको थिएन । सरकार छोड्ने पार्टीको निर्णयबाट उहाँ खुसी हुनुहुन्नथ्यो । उहाँलाई फेरि मन्त्री बन्ने चाहना थियो । अहिले पुरानो पार्टीबाट निस्किने र आगामी निर्वाचनमा नेकपामा प्रवेश गरेर टिकट लिने उहाँको रणनीति रहेको हुनुपर्छ । 

प्रदीप यादव किन पार्टी फोड्ने समूहमा हुनुहुन्थ्यो ? पहिलो कुरा, उहाँ पुरानो राप्रपाको कार्यकर्ता । पछिल्लो मधेश आन्दोलनमा निकै सक्रिय हुनुहुन्थ्यो । पर्साबाट सङ्घीय संसद्मा निर्वाचित पनि हुनुभयो । तर विभिन्न कारणले उपेन्द्र यादवले खाजेजस्तो कार्यकर्ता प्रदीप यादव होइन । हालसालै प्रदीपमाथि दुई वटा कारबाही भएको थियो - पार्टीबाट ६ महिनाको लागि निलम्बन र पर्सा जिल्लाको अध्यक्षबाट निष्कासन । त्यसकारण उपेन्द्र यादवसँग प्रदीप असन्तुष्टि हुनुहुन्थ्यो । 

यसरी यी तीन जना सांसद्को समूह आआफ्नै कारणले उपेन्द्र यादवसँग असन्तुष्ट थिए ।  

अब अर्को समूहबारे कुरा गरौँ । यसमा सांसद्हरु उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव र डा. सुरेन्द्र यादव हुनुहुन्थ्यो । डा. यादवलाई स्वास्थ्य राज्यमन्त्रीबाट हटाउँदा उपेन्द्रजीले कुनै सहानुभूति देखाउनुभएन । बरु आफू कानुन मन्त्रीको रुपमा फेरि पदभार सम्हाल्न उपेन्द्रजी जानुभयो । यसकारण उहाँ उपेन्द्र यादवसँग दुःखी हुनुहुन्थ्यो रे । 

डा. यादव राजनीतिक पृष्ठभूमि भएको व्यक्ति होइन । उहाँ महोत्तरी जिल्लाको धनीमानी परिवारबाट आउने र जनकपुरमा अस्पताल सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ । अलि धेरै पैसा भएपछि राजनीतिमा प्रवेश गर्नुभएको हो । 

आफ्ना सबै नेता कार्यकर्ताले आफ्नो निर्देशन मानोस् भन्ने उपेन्द्र यादवको चाहना हुन्छ । तर, जो लामो राजनीतिक सङ्घर्षबाट आएका हुन्छन् उनीहरुको मात्रै नेताप्रति सम्मान हुने हो नि । जसले मात्र चुनाब जित्नको लागि पार्टीको झण्डा प्रयोग गर्छ उसले नेतृत्वको निर्देशन मान्न चाहदैन । एकपटक राज्य मन्त्री भएपछि देख्नुभएको शान, सौकतबाट क्याबिनेट मन्त्री बन्ने चाहना पलाउनु कुनै अस्वभाविक कुरो भएन, कम्तीमा डा. सुरेन्द्र यादवजस्तो नेताको लागि ।

उमाशङ्कर अरगरिया र विमल श्रीवास्तवहरुको लागि पार्टी न कहिल्यै कुनै महत्वको विषय थियो, न रहने छ । श्रीवास्तव स्थानीय निर्वाचनमा विजय गच्छदारको तत्कालीन पार्टीबाट वीरगञ्जमा मेयरको उम्मेदवार हुनुहुन्थ्यो । पराजीत हुनुभयो । लगत्तै भएको संसदीय निर्वाचनमा उपेन्द्र यादवको पार्टीबाट जितेर सङ्घीय सांसद बन्नुभएको छ ।  

अरगरियाले पछिल्लो दश वर्षमा ४ वटा पार्टी परिवर्तन गर्नुभएको छ । काङ्ग्रेसबाट फोरम, फोरमबाट विजय गच्छदारको पार्टी, त्यसपछि जयप्रकाश गुप्ताको पार्टी र त्यसपछि फेरि फोरम प्रवेश गर्नुभयो । भारतमा यस्ता सांसदहरुलाई आयाराम गयाराम भन्छन् । 

यसरी आआफनै कारणले यी दुई समूहका सांसदहरु समाजवादी पार्टी फुटाउन चाहेका थिए । 

३) उपेन्द्र यादवको नेतृत्वमा सधैँ किन पार्टी फुटछ ?

यसको लागि यादवको राजनीतिक शैलीको विश्लेषण हुनुपर्दछ । उहाँ आफू सङ्घर्षको राजनीतिबाट आउनुभएको छ । वाम राजनीति कार्यकर्ताआधारित राजनीति हो । त्यस्तो राजनीतिमा सधैँ मर्यादाक्रमको पालना गरिन्छ, कम्तीमा सैद्धान्तिक रुपमा । जति वरिष्ठ नेता भएपनि पार्टीको आधिकारिक निर्णय मान्नुपर्ने हुन्छ । नत्र अनुशासनको कारबाही हुने त्रास हुन्छ । उपेन्द्र यादवको पृष्ठभूमि पनि त्यही वामपन्थी अर्थात् कार्यकर्तामा आधारित राजनीति हो ।

यादवको सबैभन्दा बलियो पक्ष भनेको उहाँ धेरै खट्ने नेता हुनुहुन्छ । अनेकौं पटकको विभाजन खेपेर पनि पार्टीलाई निरन्तर टिकाइ राख्नुभयो । उहाँले धेरै कार्यकर्ता बनाउनुभएको छ । तर उहाँले बनाउनुभएका थोरै मात्र कार्यकर्ता चुनाबी राजनीतिमा टिकेका छन् । राजनीतिको बदलिँदो स्वरुप उहाँको शैलीसँग ‘म्याच’ गर्दैन ।

समाजमा राजनीतिलाई हेर्ने नजरिया बदलिएको छ । समाजभित्र आर्थिक र समाजिक सम्बन्धहरु फेरिएका छन् । समाजको मनोविज्ञान पनि बदलिएको छ । उहाँ सङ्गठनमा सङ्घर्षशील र आज्ञाकारी कार्यकर्ताको पङ्क्ति निर्माण गर्न चाहनुहुन्छ । तर निर्वाचनमा जित्न सक्नेलाई मात्रै टिकट दिनुहुन्छ । पार्टीभित्र आफ्नो कमाण्डप्रति उहाँ एकदमै सचेत हुनुहुन्छ । पार्टीको कमाण्ड आफ्नो नियन्त्रणमा रहे भइहाल्यो नि, निर्वाचन जसले जितेपनि के फरक पर्छ र भन्ने उपेन्द्र यादवको मनोविज्ञान छ । त्यसकारण, उहाँले चुनाबी राजनीतिमा जित्न सक्नेलाई खोजीखोजी टिकट दिनुहुन्छ ।

आफनो बलबुत्तामा चुनाब जित्ने मानिसको महत्वाकाङ्क्षा त्यतिमै पुरा हुँदैन । त्यसपछि जाने भनेको सत्तामा हो । सत्ता राजनीतिको बिग्रिएको रुप भनेकै राज्य मन्त्री बनेकालाई क्याबिनेट मन्त्री बन्नुपर्ने, क्याबिनेट मन्त्री बनेकालाई मालदार मन्त्रालय चाहिने हुन्छ । त्यसकारण नयाँ पार्टीहरु धेरै फुटिरहन्छन् । समाजवादी विभाजनको पछिल्लो प्रयासमा यो पक्ष पनि जिम्मेवार छ ।

अर्को कुरा, उपेन्द्रजी एजेण्डाको हिसाबले प्रगतिशील नेता नै हुनुहुन्छ । तर जब सत्तामा जाने अवसर आउँछ, उहाँ आफैँ मन्त्री बन्न जानुहुन्छ । अरु नेताले सोच्छन्, उपेन्द्रजी सधैँ आफैँ सरकारमा जाने हो भने हामी किन सधैँ उहाँको पार्टीमा बसिराख्नु ? बरु सानै पार्टीको अध्यक्ष भइयो भने आफू पनि सत्तामा जान पाइन्छ । यसकारण पनि पार्टीहरु पटक पटक विभाजन हुन्छ । यो कुरा मधेशका अन्य पार्टीमा पनि लागु हुन्छ ।

(कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १४, २०८०

तुलानारायण साह

साह राजनीतिक विश्लेषक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया