यूएईको दूतावासमा धर्ना दिन पुगेका श्रमिकलाई लिखित पत्र: खाना र बस्नको ग्यारेन्टी

 बैशाख २३, २०७७ मंगलबार १९:३४:४५ | उमाकान्त पाण्डे

यूएई - यूएईको सारजाहमा खाना बस्नको समस्या भएको भन्दै दूतावासको शरणमा पुगेका १७ जना नेपालीले खाने र बस्ने सुविधा पाउने भएका छन् । उनीहरुलाई दूतावासले लिखित पत्र दिएर खान र बस्नको ग्यारेन्टी गर्ने जनाएको छ ।

सारजाहको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा कार्यरत १७ जना नेपाली खान र बस्नको समस्या भएको भन्दै मंगलबार बिहानै झोला बोकेर दूतावास पुगेका थिए । झन्डै २ सय किलोमिटर टाढाबाट दूतावास पुगेका उनीहरुलाई एनआरएनएको सहयोगमा दूतावासले खाने र बस्ने व्यवस्था मिलाउने भएको हो ।

यसअघि दूतावासले कम्पनीसँग पटकपटक छलफल गरे पनि समस्या समाधान नभएपछि उनीहरु दूतावासको शरणमा पुगेका हुन् ।

दूतावासले कोही पनि नेपालीलाई खान र बस्नको समस्या हुन नदिने भन्दै एनआरएनएसँगको समन्वयमा सहयोग गर्ने जनाएको छ । दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धिताल, श्रम सहचारी मोतिराम भुसाल, प्रथम सचिव शिवानी बस्नेतले कामदारको गुनासो सुन्नुभएको थियो ।

कामदारले खान र बस्नको व्यवस्थासहित पहिलो प्राथमिकतामा राखेर आफूहरुलाई नेपाल पठाउन लिखित ग्यारेन्टी नगरेसम्म धर्ना नछोड्ने अडान लिएपछि दूतावासले खाने बस्ने प्रतिबद्धता जनाएको हो । उनीहरुले दूतावासबाट सारजाह टाढा रहेको र पटकपटक दूतावास आउन नसकिने भएकाले आबुधावीमै बस्ने व्यवस्था गर्न माग गरेका थिए । तर दूतावासले गाडीभाडा उपलब्ध गराएपछि उनी सारजाह जान तयार भएका छन् ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालकाले पीडितहरूको आवश्यकता अनुसार व्यवस्थापन गरिने बताउनुभयो । उज्यालोसँग कुरा गर्दै राजदूत ढकालले दूतावासको पहलमा केही पीडितहरू लकडाउन पहिले नेपाल फर्किसकेको र बाँकी हवाइ मार्ग बन्द हुनाले फर्कन नपाएकोले समस्या आएको बताउनुभयो ।

पीडितहरूको व्यवस्थापन गर्न यूएईको उच्च निकायसँग समेत समन्वय गरेको राजदूत ढकालको भनाइ छ । कोरोनाको जोखिम बढेको बेला दूतावासमा आएर धर्ना बस्नु र होहोल्ला गर्नु राम्रो नभएको भन्दै उहाँले कसैलाई पनि समस्यामा पर्न नदिन दूतावासले काम गरिरहेको बताउनुभयो ।

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले पनि नगद सहित खाध्य सामाग्री आफूहरुले प्रदान गरेको र अर्को चरणमा पनि सहयोगको तयारी गरिरहेका बेला दूतावासमा धर्नामै बस्ने काम गलत भएको बताउनुभयो ।

नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर यूएई पुगेका उनीहरु धेरैले तलब नपाएको र कतिपयको भिसा समेत क्यान्सिल भएको बताएका छन्।

 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया