काठमाण्डौ भित्रिने र बाहिरिने नाकाको अनुगमनमा थप कडाइ

 बैशाख २४, २०७७ बुधबार १७:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपत्यका भित्रिने तथा बाहिरीने नाकामा जाँच र अनुगमनलाई थप कडाइ गरिएको छ । 

काठमाण्डौ बाहिरबाट उपत्यकाभित्र लुकेर आउने, बिनापासका गाडी पनि गुड्ने गतिविधि बढेको गुनासोपछि जाँच र अनुगमन कडा पारेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो । 

काठमाण्डौ उपत्यका भित्रिने र बाहिरीने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकामा अनुगमन समेत गरेको उहाँले बताउनुभयो । तर अनुगमनका क्रममा लुकेर मानिस भित्रिएको नपाएको उहाँको भनाइ छ । ‘हामीले काठमाण्डौको जनजीवनलाई सहज बनाउन जे सामाग्री आवश्यक पर्छ । ती गाडीमात्र भित्रिन दिने र अन्यलाई फर्काउने गरेका छौँ’ उहाँले भन्नुभयो ।

 अनुगमनमा पनि आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी, पेट्रोलियम वस्तु र बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेको र चालक र सहचालक मात्र भेटीयो । ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकाहरूमा खट्टिएका  सुरक्षाकर्मीहरुलाई नाकाहरूमा थप कडाइ गन निर्देशन पनि दिनुभएको छ । 

साथै उहाँले हरेक नागरिकलाई सुरक्षा अवस्था गम्भीर रहेको भन्दै महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गर्नुभयो  । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया