भारतबाट नेपाल भित्रिन नदिन सीमामा थप कडाइ

 बैशाख २५, २०७७ बिहिबार १५:२१:१० | सीताराम ओझा
unn.prixa.net

धनगढी - सरकारले सीमामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । 

भारतबाट आउने नेपालीबाट नेपालमा सङ्क्रमण फैलिने उच्च जोखिम भएको बताउँदै सरकारले सीमामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

भारतले सीमावर्ती क्षेत्रमा रहेका आफ्ना क्वरेन्टीनबाट नेपालीहरुलाई निकालिरहेका बेला नेपाल सरकारले सीमामा थप कडाइ गर्ने निर्देशन दिएको हो । 

भारतको हल्द्धानीको क्वरेन्टीनमा रहेका १७ जना नेपालीलाई हिजो त्यहाँको प्रशासनले निकालेको थियो । उनीहरु त्यहाँबाट निकालिएपछि बिचल्लीमा परेका छन् । 

कैलाली र कञ्चनपुरसँगै जोडिएको भारतीय भूभाग पलिया, बनवासा, खटिमा, टनकपुरमा पाँच सयबढी नेपाली झण्डै डेढ महिनादेखि क्वरेन्टीनमा छन् । उनीहरु नेपाल प्रवेश गर्न दिने सरकारको आदेशको पर्खाइमा छन् ।

स्थानीय प्रशासनले भने तत्काल उनीहरुलाई नेपाल भित्र्याउने अवस्था नरहेको बताएको छ । प्रशासनका अनुसार सरकारले सीमामा कडाइ गर्न र भारतबाट नेपालीहरुलाई नेपाल भित्र्याउन नदिन कडा निर्देशन दिएको छ । भारतका विभिन्न भागमा अलपत्र परेका लाखौं नेपाली त्यहाँ भोकभोकै बस्न बाध्य छन् ।

 उनीहरुले आफूहरुको उद्धार गर्न नेपाल सरकारसँग गुहार मागिरहेकै बेला सरकारको यस्तो कडा निर्देशन आएको हो ।

अन्तिम अपडेट: चैत ११, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया