सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने राजपाको निर्णय

 साउन १४, २०७५ सोमबार १८:२२:४२ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आइनसकेको प्रतिक्रिया दिनु भएको हो । उहाँले केही दिन कुर्ने र त्यसो गर्दा पनि संविधान संशोधनलगायत आफूहरुको माग सम्बोधन नगरे सरकारबारे पुनर्विचार गर्न बाध्य हुने पनि स्पष्ट पार्नुभयो ।

सोमबार नेता महतोले सरकारका सबै कामकारबाहीमा सन्तुष्ट हुन नसके पनि आफूहरुको माग सम्बोधन गर्ने आशा रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गर्ने आफूहरुको माग सम्बोधन गर्न सरकारले आलटाल गरे सरकारविरुद्ध सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

नेता महतोले सरकारसँग दुई तिहाई रहेकाले संविधान संशोधन हुने विश्वास पनि व्यक्त गर्नुभयो । सरकारले पार्टीका सांसद रेशमलाल चौंधरीलगायतका नेता, कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा अझै फिर्ता नलिएकोमा नेता महतोको असन्तुष्टि छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया