वाउ ! क्या राम्राे हिमालपारीको स्याउबारी (तस्बिरमा)

 साउन १५, २०७५ मंगलबार ९:१:२४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दुई साताअघि तार्कुघाटकी प्रतिभा रानाभाट पहिलोपटक मनाङ पुग्नुभयो । मनाङको प्राकृतिक सौन्दर्यले उहाँलाई लोभ्याउनुसम्म लोभ्यायो । हिमालपारीको जिल्ला मनाङ पुगेको भोलिपल्टै उहाँ  ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको स्याउ फार्ममा पुग्नुभयो ।

फल्दै गरेका राताम्य भएका स्याउ फार्ममा उभिएर प्रतिभाले ‘सेल्फी’ समेत लिनुभयो । एसियाकै सबैभन्दा ठूलो स्याउबारी (भ्राताङ स्याउबारी) ‘क्याप्सन’ लेखेरै उहाँले आफ्नो फोटो फेसबुकमा राख्नुभयो ।  

उहाँका फेसबुकमा रहेका साथीभाई, आफन्तले ‘क्या राम्रो स्याउबारी’ भन्दै कमेन्ट गरे । कतिपय साथीले ‘स्याउ कोसेली ल्याउनु है’ भन्दै प्रतिभालाई फेसबुकको कमेन्ट बक्समै आग्रह पनि गरे ।    

‘दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुग्दा त म त छक्कै परेँ । साह्रै राम्रो लाग्यो । रमाइलो लाग्यो,’ प्रतिभाले मुस्कुराउँदै भन्नुभयो, ‘फेसबुकमा राखेको स्याउ फार्मको तस्बिरले पनि धेरैको मन खिचेछ ।’      

उहाँमात्र होइन । अहिले मनाङ पुग्ने आन्तरिक होस् या बाह्य पर्यटक धेरैको चाह हुन्छ, भ्राताङको स्याउबारीसम्म पुग्ने, घुम्ने, रम्ने र तस्बिर खिच्ने ।    

  

मनाङका सञ्चारकर्मी नेगम परियारलाई पनि भ्राताङको स्याउबारी निकै रमाइलो लाग्छ । छोरा र श्रीमतिको साथमा मनाङमै बसी पत्रकारिता गरिरहेका परियार समय मिलाएर स्याउबारी घुम्न गइरहनुहुन्छ ।   

‘स्याउबारी असाध्यै रमाइलो छ । यहाँ आउने धेरै पर्यटक स्याउबारी घुम्न जान लालयित बन्छन् । विदाको समयमा त झन् यहाँ अवलोकन गर्न आउनेको घुईँचो नै लाग्छ,’ उहाँले भन्नुभयो । 

सबैको रोजाईँ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ हुनुहुन्छ । गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ ।    

२५ करोडको लगानी : ७ सय ३५ रोपनी जग्गामा स्याउखेती     

गुरुङका छोरा एवम् फार्मका निर्देशक सम्राज गुरुङका अनुसार फार्मबाट गएको वर्ष मात्रै ३ सय टन स्याउ उत्पादन भएको थियो । यसवर्ष फार्मबाट ५ सय टन स्याउ उत्पादन हुनसक्ने उहाँको अनुमान छ ।

उहाँका अनुसार ७ सय ३५ रोपनी जग्गामा स्याउ खेती गरिएको छ । माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, टावल, पिसाङ र भ्राकाको संगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा भाडामा लिई यहाँ स्याउ खेती गरिएको हो ।  
    
‘एग्रो मनाङ कृषि फार्म’का निर्देशक सम्राजका अनुसार फार्ममा ३ थरीका स्याउ लगाइएको छ । फार्ममा सर्भिया र इटालीबाट गाला, गोल्डेन र फुजी जातका विरुवा ल्याएर स्याउ खेती गरिएको हो । फार्ममा २५ करोड बढि लगानी भैसकेको छ ।

५० जनालाई रोजगार 

अहिले झन पिसाङमै स्याउको जुस उद्योग र कोल्ड स्टोर स्थापना गरिएसँगै यहाँ आउने मान्छेको संख्या बढ्न थालेको छ ।    

स्याहार राम्रो हुन सके एउटै बोटबाट ४० देखि ५० केजीसम्म स्याउ उत्पादन हुने फार्मका सुपरभाइजर राजु तामाङले बताउनुभयो । फार्मममा ५० जनाले रोजगार पाएका छन् । यहाँबाट उत्पादित स्याउ देशका मुख्य शहर काठमाडौं, पोखरा चितवनसम्म पुग्छन् । 

गएको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको एक टोलीले भ्राताङमा रहेको स्याउ फार्मको निरीक्षण समेत गरेको छ । हिमाली भेगमा स्याउ खेती गर्न चाहनेका लागि सरकारले विशेष सहयोग गर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो । 

तस्बिर सौजन्य : राजन गुरुङ       
 

अन्तिम अपडेट: चैत २३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया