जमुनाह नाकाबाट भित्रिएकामध्ये ३ जनाकाे आरडीटी परीक्षण रिपाेर्ट 'पाेजेटिभ'

 जेठ २, २०७७ शुक्रबार १५:५८:५९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जको जमुनाह नाकाबाट बिहीबार राति भित्रिएकामध्ये तीन जनाकाे र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) परिक्षणको रिपोर्ट पोजिटिभ आएको छ । नाकाबाट ६ सय ८७ जना भित्रिएका थिए ।

आरडीटी परीक्षण रिपाेर्ट पोजिटिभ देखिएका तीन जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गर्न जिल्ला स्वास्थ्य कार्यालय बाँकेको टोली जमुनाह नाका पुगेको छ । बिहीबार राति नै नेपालमा रहेका एक हजार तीन सय ७४ भारतीय भारत पुगेका छन् ।

रिपोर्ट नेगेटिभ आएकालाई सम्बद्ध जिल्ला पठाउने तयारी गरिएको छ । दुई सय २१ जनालाई महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको क्वरेण्टीनमा राखिएको छ । जसमा एक जना भुटानी नागरिक रहेका छन् । नाकामा पुगेका र क्वरेण्टीनमा बसेकाहरुको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरेको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार काेराेना सङ्क्रमण पुष्टि भएका आठ जना नै भारतबाट फर्केर गाउँपालिकाले सञ्चालन गरेको क्वरेण्टीनमा रहँदै आएकाे बताइएकाे छ ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार सङ्क्रमितमध्ये ६ जना दीपेन्द्र प्रावि र दुई जना प्रावि खोदवामा रहेको क्वरेण्टीनमा रहेका छन् । सङ्क्रमित आठ जनालाई दाङको बेलझुण्डीमा रहेका आइसोलेशन अस्पतालमा लैजाने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । बाँकेमा आठ जना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया