पसलबाट ल्याइएका सामानलाई क्वरेण्टीनमा राखेपछि मात्रै प्रयोग गरौँ

 जेठ २, २०७७ शुक्रबार १७:३८:२१ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - तीव्र गतिमा कोरोना परीक्षण नहुुनु, भारतीय क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम बढ्नुलगायतका कारण देशमा कोरोना सङ्क्रमणको दर बढ्दै छ । नेपालमा अरु देशबाट प्रवेश गर्नेहरुमा मात्रै नभई उनीहरुको परिवार र समुदायमा पनि सङ्क्रमण फैलिसकेको छ । समुदाय स्तरमा थप सजगता नअपनाउने हो भने यो दर भयावह रुपमा बढ्ने खतरा बढेको स्वास्थ्य विज्ञहरु बताउँछन् । 

यो सङ्क्रमण व्यक्ति, परिवार र समुदायमै नियन्त्रण गर्न सकिएन भने भोलि पालिका, जिल्ला, प्रदेश हुँदै पुरै देशभर फैलिने खतरा बढेको छ । सरकारले जारी गरेको लकडाउन झण्डै २ महिना बितिसक्दा पनि कोरोना सङ्क्रमण नियन्त्रणमा नआउनुले अझ बढी सजगता अपनाउनुपर्ने देखिन्छ । काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीसँग यसै विषयमा टेकमान शाक्यले गर्नुभएको कुराकानी :

हामी अहिले कोरोना सङ्क्रमणको कुन चरणमा आइपुग्यौँ र हामीले अपनाइरहेको सावधानीलाई थप बढाउनुपर्ने देखिन्छ, होइन ?

तराईका कतिपय ठाउँमा पुरै परिवारलाई सङ्क्रमण पुष्टि भएको खबर आएका छन् । परिवारसँग सम्पर्कमा रहेका अरु व्यक्तिलाई पनि पुष्टि भएको छ । हामी स्थानीय सङ्क्रमणबाट सामुदायिक सङ्क्रमणमा गइसक्यौँ की भन्ने लाग्छ । त्यसैले हामी अहिले दोस्रो र तेस्रो चरणको बीचमा छौँ । यसलाई यही रोकेर नियन्त्रण गर्दै लैजानुपर्छ । अहिले अपनाइएका सावधानीको विधिले मात्रै पुग्दैन । सावधानी थप बढाउनुपर्छ ।

कोरोना सङ्क्रमण व्यक्तिबाट परिवार हुँदै समुदायमा प्रवेश गरिसक्यो । थप के के कुरामा ध्यान दिनुपर्छ ?

थप सजग हुँदै हामी घरभित्रै बसौँ । अनावश्यक बाहिर निस्कन भएन । लकडाउनमा केही समय दैनिक पसलहरु खोल्न दिइएको छ । ती ठाउँमा गएर भीडभाड गर्न भएन । कतै जानुपर्यो भने हिँड्दा सामाजिक दूरी कायम गर्नुपर्यो । सरसफाइमा अलि धेरै ध्यान दिनुपर्यो । यदि समुदायमा कुनै व्यक्ति उच्च जोखिम भएका ठाउँबाट आएका छन् भने उसले कोरोना बोकेर आएको हुन सक्छ । अर्थात् कोरोना सङ्क्रमित व्यक्तिसँग १४ दिनको बीचमा सम्पर्कमा छ भने त्यसमा पनि विचार पुर्याउनुपर्यो ।

देशभित्रैबाटै एक ठाउँबाट अर्को ठाउँमा जानु परेको छ भने के गर्ने ?

त्यस्तो अवस्थामा निर्धारित मापदण्डअनुसार होम क्वरेण्टीनमा बस्नुपर्छ । अब हरेक समुदायमा १ वटा क्वरेण्टीन अनिवार्य बनाउनुपर्छ । होम क्वरेण्टीनको सम्भावना छैन भने सामुदायिक क्वरेण्टीनमा गएर बस्नुपर्छ । उनीहरु १४ दिनसम्म क्वरेण्टीनमा बस्नुपर्छ । त्यो अवधिसम्म निरन्तर परीक्षण गरिरहनुपर्छ । डेरामा बस्ने वा कोही व्यक्ति काम विशेषले अर्को समुदाय वा कार्यालयमा काम गर्ने, सुरक्षा निकायमा काम गर्नेलगायत व्यक्तिले अनिवार्य क्वरेण्टीन बस्नुपर्ने आवश्यकता आइसक्यो । यो एक देशबाट अर्को देशमा आवातजावत गर्दा मात्रै होइन, एक समुदायबाट अर्को समुदायमा पुग्दा पनि सङ्क्रमण फैलिन सक्ने तहमा हामी आइपुगेका छौँ ।

एक समुदायबाट अर्को समुदायमा जाने व्यक्तिको परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आयो भने उसले त्यो समुदायमा अरु सरह बस्ने की नबस्ने ?

नतिजा ‘नेगेटिभ’ आयो भन्दैमा लखर लखर हिँड्न भएन । मलाई केही पनि भएको रहेनछ भनेर सामाजिक दूरी कायम नगर्ने गर्नुभएन । केही दिनमा फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेकोले ‘नेगेटिभ’ आउँदैमा ढुक्क हुन मिल्दैन । आवश्यक मापदण्डहरु उसले पालना गर्नुपर्ने हुन्छ । शरीरको तापक्रम हरेक दिन जाँचिरहनुपर्छ । लक्षण देखियो भने तत्काल सम्बन्धित स्वास्थ्य संस्थामा खबर गरिहाल्नुपर्छ । आज ‘नेगेटिभ’ भएको व्यक्तिमा भोलिपल्ट जाँच गर्दा ‘पोजेटिभ’ हुन सक्ने भएकोले विशेष सावधानी अपनाउनुपर्यो । 

यो खेतीकिसानी गर्ने समय हो । कसरी सावधानी अपनाउने ?

देशभर जोखिम नरहेकोले सबैतिर डराउनुपर्ने आवश्यकता छैन । तर सावधानी भने अपनाउन नै पर्छ । जोखिम नभएका ठाउँहरुमा पहिलेजस्तै गरी काम गर्न सकिन्छ । तर, बाहिरबाट मान्छे ल्याउने काम गर्नुभएन । यी ठाउँहरुमा पनि दूरी कायम गर्नुपर्छ । खन्ने काम गर्दा अलि टाढा टाढा बसेर गर्न सकिन्छ । खेतबारीमा काम गर्दा र बाली भित्र्याउने लगायतका काम गर्दा जोखिम कम भएका ठाउँमा त्यति आत्तिनुपर्दैन । खेताला पाईएन भनेर अर्को गाउँको मानिस ल्याउने काम गर्नुभएन । आफूले चिनेका, विश्वासिला र घर नजिकका मान्छेलाई बोलाउनुपर्छ । तराईका जिल्लामा बाहिरका मान्छेलाई खेताला लगाउने चलन छ । काममा लगाउनुभन्दा पहिले उसको विगत हेर्नुपर्छ । ऊ कहाँबाट आएको हो भन्नेदेखि अहिले बसिरहेको ठाउँमा कति समयदेखि बसिरहेका छन् भन्नेसम्मका कुरा पत्ता लगाएर काममा लगाउनुपर्छ ।

यीबाहेक अरु के के कुरामा ध्यान दिनुपर्ला ?

कोही कार्यालयमा काम गर्नुहुन्छ भने त्यो व्यक्ति कार्यालयमा धेरै समय बस्नुभएन । किनकि कार्यालयमा अरु व्यक्ति पनि रहने भएकोले सङ्क्रमणको डर हुन्छ । सकेसम्म नोट र पैसाको कारोबार गर्दै नगर्ने । सामान किनबेच गर्दा दूरी कायम गर्ने र एक व्यक्तिले प्रयोग गरेको मोबाइल अर्को व्यक्तिले सकेसम्म नलिनेलगायतका कुरामा ध्यान दियो भने कोरोनालाई आरामले जित्न सकिन्छ ।

वेलावेलामा साबुनपानीले हात धुने र दूरी कायम गर्नेलगायतका कुराहरु भइहाल्यो । घरमै बस्दा मास्कको प्रयोग गर्नुपर्छ कि पर्दैन ? 

घरमा बस्दा मास्क लगाउनुपर्दैन । मास्क लगाउने भनेको रुघाखोकी लागेकाहरुले मात्रै हो । सङ्क्रमित व्यक्तिले हाच्छ्युँ गर्दा अथवा खोक्दा अरु व्यक्तिमा सङ्क्रमण सर्न सक्छ भनेर मास्कको प्रयोग गर्ने हो । सामान्य मान्छेले मास्क लगाउनुपर्ने जरुरी छैन । सङ्क्रमण नदेखिएको व्यक्तिले बारम्बार मास्क लगाइरहयो भने बाहिरिन खोजेका जीवाणुका कारण अर्को समस्या आइपर्न सक्छ ।

तराईका जिल्लामा धेरै सङ्क्रमण फैलिनुमा सीमापारिबाट आएका मान्छेहरु मुख्य कारण हुन् भनिन्छ । त्यस क्षेत्रमा समुदायमा सङ्क्रमण फैलिएकोले उनीहरुको हकमा बढी सजगता कसरी अपनाउने ?

त्यसको लागि सबैभन्दा पहिले सीमा नाकाहरु व्यवस्थित बनाउनुपर्यो । उनीहरुलाई छिर्न दिनुभएन । यदि नेपाल प्रवेश गरिहाले भने उनीहरुलाई स्थानीय क्वरेण्टीनमा राख्नुपर्छ । घरपरिवारका मान्छेले पनि सिधै घरमा आउने वातावरण बनाउनुहुँदैन । निर्धारित मापदण्ड पुरा गरेर मात्रै घरमा आउन दिनुपर्छ । क्वरेण्टीन पनि व्यवस्थित हुनुपर्यो । मानिस बस्न सक्ने, कम्तीमा पनि दिशा र पिसाब गर्न सक्ने ठाउँ हुनुपर्यो । क्वरेण्टीनमा मनोरञ्जनका साधनहरु पनि राख्नुपर्यो । आधारभूत व्यवस्थापन गरिदियो भने सीमाना नाघेर आएका व्यक्तिहरु सिधै घर जाँदैनन्, उनीहरु आफैँ क्वरेण्टीनमा गएर बस्छन् । 

मानिसहरुले दैनिक उपभोग्य सामग्री पसलबाट किन्दा खासै सावधानी अपनाउने गरेको पाउँदैनौँ । ती सामग्री देशका अन्य ठाउँबाट मात्रै होइन, अरु देशबाट पनि आइरहेका छन् । कसरी सावधान बन्ने ?

त्यसमा पनि अत्याधिक सङ्क्रमणको सम्भावना हुन्छ । त्यस्ता सामग्रीलाई घरमा ल्याएर क्वरेण्टीनमा निश्चित अवधिसम्म राख्नुपर्छ । केही समयसम्म एउटा छुट्टै कोठामा राखेर अथवा केही समय छुटै ठाउँमा राखिएका सामग्रीलाई प्रयोग गर्नु राम्रो हुन्छ । विदेशतिर केही निश्चित समयसम्म क्वरेण्टीनमा राखेर मात्रै खाद्यदेखि अन्य सामग्री बजारमा आपूर्ति गर्ने गरिन्छ । हाम्रोतिर पनि त्यसको विकास आवश्यक भइसक्यो । विभिन्न प्रविधिहरु आएका छन् । त्यसको प्रयोग पनि गर्न सकिन्छ । 

सङ्क्रमण बढ्ने खतराले भिडभाड नगर्ने भनेर होम डेलिभरी गर्ने कुरा पनि आएको छ । अनलाइन सपिङ गर्ने कुरा पनि छ । डेलिभरी गर्नेहरुसँग पनि डराउनुपर्ने होला नि ?

एकदमै हो । वीरगञ्जकै कुरा गरौँ । कोरोना सङ्क्रमित व्यक्तिले ग्यास डेलिभरी गरिरहेको कुरा आएको छ । भारतमा कोरोना सङ्क्रमित व्यक्तिले ७० परिवारमा खानेकुरा पुर्याइराखेको छ । डेलिभरी गर्ने मान्छेको निरन्तर कोरोना परीक्षण गरिएको छैन भने उनीहरुबाट पनि सङ्क्रमणको डर हुन्छ । डेलिभरी गर्ने मानिसहरुबाट कोरोना सर्दैन भनेर ढुक्क हुन सक्ने अवस्था छैन ।

अन्तिम अपडेट: जेठ २५, २०७७

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

1 Comments

  • रमेश निरौला

    May 15, 2020, 7:14 p.m.

    कति समय बाहिर राख्नु पर्छ सामान थाहा पाउन पाए हुन्थ्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया