नेकपाद्वारा २ नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, सरकार नढल्ने

 जेठ १३, २०७५ आइतबार १७:२७:३२ | शैलेन्द्र महतो

धनुषा, जेठ १३ – नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

दुवै पार्टीले समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारले आफुहरुको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।

आइतबार बसेको प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठकमा तत्कालिन एमालेको संसदीय दलका नेता सत्यनारायण मण्डल र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले १ सय दिनमा सरकारले सोचेजस्तो काम नगरेकाले समर्थन फिर्ता लिएको बताउनुभएको हो ।

सरकार आफुखुशी चलेको दुवैजनाको भनाई छ । यसैबिच प्रदेशसभाको बैठक अहिले अवरुद्ध भएको छ ।

सरकार नढल्ने

नेकपाले समर्थन फिर्ता लिएपनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ ।

दुवै दलका गरि ५४ जना सांसद छन् भने एकजना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ठ्याक्कै ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । 

तर अब विपक्षी भने बलियो भएको छ । यसअघिसम्म कांग्रेस बाहेक सवै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेकोमा अब नेकपा र काँंग्रेस विपक्षी दल बन्न पुगेका छन् । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया