प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध राम्रो भयो : प्रचण्ड

 साउन १५, २०७५ मंगलबार १४:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनु भएको छ । 

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दुई मुलुकबीचमा गरिएको समझदारी कार्यान्वयनको कामले गति लिन थालेको बताउनु भएको हो । उहाँले नेपाल–भारतबीचको सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउने प्रयत्न भइरहेको दावी पनि गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत थिंक टयांक समिट’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको समृद्धि भारतको पनि स्वार्थको विषय भएको स्पष्ट पार्दै समान सार्वभौमसत्ता र समान स्वार्थमा आधारित रहेर आपसी सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारतसँगको सहमति अनुसार रेल र जलमार्गमा जोड दिएर आर्थिक समृद्धिको यात्रालाई अघि बढाउने नेपालको योजना पनि अघि सार्नुभयो ।

अध्यक्ष दाहालले दुई मुलुकका प्रधानमन्त्रीबीचको ताजा विश्वासिलो सम्बन्धलाई आधार मानेर दुई मुलुकको बीचको सम्बन्धलाई अझै गाढा बढाउँदै लैजानुपर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउन सम्वद्ध सबै पक्षलाई पहल गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध राम्रो भएको पनि स्मरण गराउनुभयो । मन्त्री यादवले नेपालले भारतसँगको सम्बन्ध स्वाभिमानका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गर्नु भयो । उहाँले अरुण–३ जल विद्युत आयोजना र वीरगंजमा क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्ने पछिल्ला सम्झदारीले दुई मुलुकबीचको आर्थिक साझेदारी अभिवृद्धि हुँदै जाने विश्वास दिलाएको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा दुवै मुलुकका राजनीतिक, बुद्धिजीवि र व्यवसायीबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विविध आयामका विषयमा पनि अन्तरक्रिया गरिएको छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

1 Comments

  • shiva

    July 31, 2018, 3:02 p.m.

    भारतसंग के भयो थाहा छैन, तर नेपाली जनतालाई चाहिं ओली सरकारले १०० % विश्वासघात गर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया