खेल र राजनीति दुवैमा अब्बल ठहरिएकाहरु

 साउन १५, २०७५ मंगलबार १५:३:३३ | उज्यालो सहकर्मी

गएको बिहीबार पाकिस्तानका पूर्व क्रिकेट स्टार इमरान खान चुनावमा विजयी भएर करियरको अर्को एउटा कोषेढुंगा पार गर्न सफल भए । 

तर खेलाडीबाट राजनीतिज्ञ बनेका इमरानमात्र एकमात्र खेलाडी होइनन् ।

६५ वर्षे खानले १६ वर्षे क्रिकेट करियरमा पाकिस्तानको नेतृत्व गर्दै एउटा विश्वकप पनि जिताए । 

तर करिब दुई दशकको राजनीतिक परिश्रमपछि उनी पाकिस्तानी राजनीतिका शक्तिमा उदय हुन सफल भए ।

यहाँ यस्ता केही पूर्व खेलाडीबाट राजनीतिमा सफल भएका छन् ।

जर्ज वेह - लाइबेरिया

लाइबेरियाका खेलाडी जर्ज वेहको फुटबल करियर निकै सफल थियो । 

उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी), एसी मिलान, चेल्सी र म्यान्चेष्टर सिटीमा फुटबल खेले । 

सन् १९८८ मा आर्सने वेङ्गरले मोनाकोबाट युरोपेली करियर सुरु गराएका वेह उत्कृष्ट अफ्रिकी खेलाडी हुन् ।

बालोन डो‘र वल्र्ड प्लेयर अफ द इयरको उपाधि जित्ने वेह एकमात्र खेलाडी हुन् । 

इटालियन सिरी ए र फ्रेन्च लिग वन उपाधि जितेका वेहको भेरोनाविरुद्धको गोल सबैभन्दा चर्चित छ ।

उनले आफ्नो पेनाल्टी एरियाबाट पूरा टिमलाई छलाउँदै एक्लैले गोल गरेका थिए ।

फुटबल करियरबाट सन् २००३ मा सन्यास लिएपछि राजनीतिमा प्रवेश गरेका वेह गत वर्ष भएको लाइबेरियाको राष्ट्रपतिमा ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।

म्यान्नी प्याकियो - फिलिपिन्स

प्याक–म्यान भनेर चिनिने फिलिपिनो बक्सर म्यान्नी प्याकियोको बक्सिङ करियर सफल रह्यो । 

बक्सिङको आठ डिभिजनमा च्याम्पियन बन्न सफल एकमात्र खेलाडी प्याकियोले ११ मुख्य उपाधि जितेका थिए ।

फिलिपिन्सका राष्ट्र नायक समेत रहेका प्याकियो बास्केटबल, संगीत र अभिनयमा समेत होमिन पुगेका थिए । 

गएको जुन २०१६ मा उनी फिलिपिन्सको सिनेटरमा निर्वाचित भएका थिए । उनी सन् २०२२ सम्म सिनेटर पदमा रहनेछन् ।

भिटाली क्लिच्को - युक्रेन

बक्सिङ खेलाडी भिटाली क्लिच्कोले ४७ व्यावसायिक भिडन्तमा ४५ वटा जितेका थिए । जसमा ४१ वटा फाइटमा विपक्षीलाई नकआउट गरेका थिए । 

४७ वर्षे क्लिच्को सन् २००६ मा राजनीतिमा प्रवेश गरेका थिए ।

त्यसवेला उनी युक्रेनको राजधानी कीभको मेयर पदको निर्वाचनमा दोस्रो भएका थिए ।

त्यसपछि सन् २०१४ मा उनी मेयरमा निर्वाचित भएका थिए । 

क्रिष्टी मार्सल - अष्ट्रेलिया

जिम्न्यास्टिक, स्की, बोर्ड सदस्य, राजनीतिज्ञ । क्रिष्टी मार्सलले सबै काम सफलता हात पारिन् । 

अष्ट्रेलियन जिम्न्यास्ट क्रिष्टीले ४० वटा विश्वकप पदक जितेकी छन्, जसमा १७ स्वर्ण पदक छन् ।

खेलकुदबाट सन्यास लिएपछि उनी अष्ट्रेलियन विन्टर ओलम्पिक इन्टिच्युटको बोर्ड सदस्य भइन् । त्यसपछि सन् २००२ मा उनी प्रतिनिधि सभाको सदस्य बनेकी थिइन् ।

एक पटक उनले सभाहलमा नै ११ दिनको आफ्नो बच्चालाई स्तनपान गराएपछि उनी हेडलाइन बनेकी थिइन् । 

रोमारियो - ब्राजिल

रोमारियो आफ्नो समयका सर्वोत्कृष्ट खेलाडी थिए । 

सन् १९९४ को विश्वकप जिताउँदै उत्कृष्ट खेलाडी समेत बनेका रोमारियोले २० वर्षे करियरमा एक हजार गोल गरे ।

खेलाडी करियरमा ‘ब्याड–ब्वई’बाट परिचित रोमारियोले यसै वर्ष हुने ब्राजिलको रियो दि जेनेइरोको गभर्नरका लागि उभिने भएका छन् । 

त्यसअघि उनले सन् २०१४ मा ब्राजिलको सिनेटरमा विजय हासिल गरेका थिए । 

डाउन सिन्ड्रोम भएको छोरीका कारण राजनीतिमा लाग्ने प्रेरणा जागेको बताउने रोमारियो अहिले शारीरिक अपाङ्ग भएका बालबालिकाको अधिकारका सक्रिय अभियन्ता हुन् ।

रोयोके तानी - जापान

विश्व जुडोको इतिहासमा सबैभन्दा उत्कृष्ट महिला जुडोका को हुन् भन्ने प्रश्नको जवाफमा धेरैको उत्तर हुन्छ, रोयोके तानी । 

जम्मा चार फिट नौ इन्चकी तानीले सातवटा विश्व उपाधि र पाँच ओलम्पिक पदक जितेकी छिन् ।

करियरमा उनले दुई वटा ओलम्पिक स्वर्ण पदक जितेकी थिइन् ।

सन् २०१० मा खेलाडी जीवनबाट सन्यास लिएकी तानी जम्मा पाँच पटक पराजित भएकी थिइन् । सन् २०१० मा उनी जापानको माथिल्लो सदन, हाउस अफ काउन्सिलर्स निर्वाचित भएकी थिइन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया